उर्लाबारी । नेपाली कांग्रेस मोरङको सभापति डिगबहादुर लिम्बू इमानदार र लोकप्रिय छवि बनाएका नेता मानिनुहुन्छ ।
उहाँ मोरङको उत्तरी भेगमा जन्मे हुर्केका साधारण परिवारका नेता हुनुहुन्छ । आज उहाँ कांग्रेसमा लोभ र मोहले राजनीति गरिरहनुभएको छैन । तर, यति चाहिँ पक्का हो ः डिगबहादुर जता उभिनुहुन्छ, उतै सफल बनिरहनुभएको छ ।
‘म निष्ठाको राजनीति हुनुपर्छ भन्ने मान्छे हुँ, ४० वर्ष भयो राजनीति गरेको अब कांग्रेसमा घुँडा टेकेर र चाकडी गरेर राजनीति गर्नु छैन,’ लिम्बूले उही कुरा दोर्होयाउनुभयो । लिम्बू मोरङको सिंहदेवी गाविस–५ ऐंसेलुमा २०२० सालमा जन्मनु भएको हो । उहाँको परिवार २०२८ सालमा लेटाङ–९ गुवाबारीमा बसाइँ सरेको थियो । सिंहदेवीमा २ कक्षामा पढ्दै गर्नुभएका लिम्बूको परिवार लेटाङ आएपछि उहाँको पढाइ पुनः शिशु कक्षाबाट प्रारम्भ भयो ।
लिम्बूले लेटाङस्थित शान्ति भगवती माविबाट २०३९ सालमा एसएलसी पास गर्नुभएको थियो । एसएलसी पास गरेपछि उहाँ त्यही शान्ति भगवती माविमा पढ्न खोज्नुभयो । त्यहाँ राजनीतिक खिचातानी सुरू भएको थियो । उहाँ महेन्द्र बहुमुखी क्याम्पस धरान पढ्न पुग्नुभयो । त्यहाँ गुण्डागर्दी हुन्थ्यो । त्यो वातावरणमा लिम्बूले धरानमा आइए पढ्न पाउनु भएन । त्यसपछि उहाँ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर जानुभयो, त्यहाँ राजनीतिक गतिविधि तीव्र हुन्थ्यो । त्यहाँ पनि उहाँले पढाइ अगाडि बढाउन सक्नुभएन । उर्लाबारी बहुमुखी क्याम्पस २०४२ सालमा स्थापना भयो । लिम्बू यहाँ भर्ना हुनुभयो । यहाँ पनि उहाँले पढ्ने वातावरण पाउनु भएन । कारण थियो, उही राजनीति र आफ्नो शिक्षण पेशा ।
मुलुकमा पञ्चायती व्यवस्था थियो । उहाँ आफूले पढेको लेटाङस्थित शान्ति भगवती माध्यमिक विद्यालयमा प्रावि शिक्षक हुनुहुन्थ्यो । उहाँले २०४० सालमा शान्ति भगवतीबाट शिक्षण पेशा सुरू गर्नुभएको थियो । शिक्षण र राजनीति सँगसँगै अगाडि बढाउन उहाँलाई निकै चुनौती थियो । तर, उहाँले दुबैतिर सम्झौता गरिरहनुभएको थियो ।
शिक्षण पेशा अगाडि बढाइरहनुपर्ने बाध्यता थियो । पञ्चायतविरूद्ध आवाज उठाउने गतिलो माध्यम विद्यार्थी थिए । उहाँ कक्षामा जाँदा विद्यार्थीलाई भन्थे –‘आफ्ना अभिभावकलाई पञ्चायत ठिक छैन, बहुदलतिर लाग्नुपर्छ भन्नू है ।’
पञ्चायतविरूद्ध आवाज बुलंद गराउनका निम्ति उहाँले २०४० देखि २०५० सालसम्म शान्ति भगवतीमा पढाउनुभयो । ‘शिक्षण पेशा छोड्नुपर्ने कारण राजनीति बन्यो, संगठनमा हिँड्दा साथीहरूले दुईतिर आवद्ध भयो भनी विरोध नै चाहिँ गरेनन्, तर म आफैंलाई दुईतिर अगाडि बढाउन असहजिलो भयो,’ लिम्बूले भन्नुभयो ।
बहुदल आएपछि र २०४८ सालमा आम निर्वाचन भएपछि उहाँले शिक्षण पेशा छोडेर राजनीतिमा पूर्णकालीन हुनुभयो । कांग्रेस एकतापछि उहाँले मोरङ क्षेत्र नम्बर ९ (हाल क्षेत्र नम्बर १) बाट २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा टिकट पाउनुभयो । उहाँ माओवादीका नेता नगेन्द्र धिमालसँग पराजित हुनुभयो ।
एकातिर पराजित भएको स्थिति, अर्कोतिर राजनीतिमा एसएलसी पास मात्रै गरेकाको प्रतिनिधित्व भन्दै नेतामाथि समाजले प्रश्न उठाउन थाल्यो । लिम्बूले आफ्ना छोरा मञ्जिलसँग प्लस टु पढ्ने निधो गर्नुभयो । छोरा मञ्जिल कलंकीस्थित रिचमण्ड एकेडेमीमा पढ्थे । छोरासँगै उहाँ क्याम्पस पढ्न थाल्नुभयो ।
उहाँले त्यहाँबाट प्लस टु पास गर्नुभयो । त्यसबेलासम्ममा पार्टीमा झन् बढी सक्रियता देखाउनुपथ्र्यो । उहाँले राजनीति र पढाइलाई समानान्तर रुपमा अगाडि बढाउन चाहनुभयो । बल्खुस्थित त्रिभुवन विश्वविद्यालयमा डिप्लोमा पढ्न थाल्नुभयो । यो बेला लिम्बू २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बन्नुभयो, चुनाव पनि जित्नुभयो । त्यसपछि लिम्बूको संसदीय यात्रा सुरू भयो । संविधान निर्माणमा उहाँले भूमिका खेल्नुभयो । यो भूमिका खेल्दाखेल्दै उहाँ विराटनगरस्थित डिग्री क्याम्पसमा पढ्न थालिसक्नु भएको थियो । यहीबेला २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि लिम्बू पढाइमा केन्द्रित हुनुभयो । २०७६ सालमा डिग्री हासिल गर्नुभयो । ‘प्लस टु देखि डिग्री पास गर्दा दिनहुँ क्याम्पसमा गएर पढ्न पाइनँ, मेरो स्वअध्ययन रह्यो, स्वअध्ययनले मलाई अहिले एमफिल गर्ने वातावरण मिलाएको छ,’ लिम्बूले भन्नुभयो ।
लिम्बू अहिले आफ्नो चिरपरिचित क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको छ । उहाँ चुनावी घरदैलोमा सक्रिय हुनुहुन्छ ।
उहाँले जितका लागि गठबन्धनको साथ नै पर्याप्त रहेको बताउनुभयो । ‘यो गठबन्धनले पाँच वर्षका लागि स्थायी सरकार दिन्छ, गठबन्धनले हार्नु भनेको निष्ठाको राजनीति समाप्त हुनु हो, गठबन्धनको साथ लिएर चुनावी अभियानमा जाँदा जनताले मलाई विजयको अग्रिम शुभकामना दिनुभएको छ,’ उहाँले भन्नुभयोे, ‘देशलाई अहिले गठबन्धनले निकास दिन सक्छ । देशभरि गठबन्धनको माहोल बनेको छ ।’ यसबाहेक उहाँका चुनावी एजेन्डा विकासतर्फ जोडिएका छन् । उहाँ २०७० सालमा संसदीय भूमिकामै रहँदा मोरङ क्षेत्र नम्बर १ मा विकासका अनेकन गतिविधि अघि बढेका छन् ।

उर्लाबारी–मधुमल्ला सडक, किसान चोक–टाँडी सडक, मदन भण्डारी राजमार्ग, मावा, बक्राहा, खदम खोलाका पुलहरू आफ्नै पालामा निर्माण सुरू भएको उहाँले बताउनुभयो । ‘ती काम अधुरा छन्, पूरा गर्नु छ,’ उहाँले भन्नुभयो । यसैगरी, क्षेत्र नम्बर १ मा विद्यालय बनाउने, सिँचाइ र खानेपानी पु¥याउन त आफूले संसदीय भूमिकाबाहिरैबाट पनि योगदान गरिरहेको लिम्बू बताउनुहुन्छ । ज्येष्ठ नागरिकको उत्थान, युवालाई स्वदेशमै रोजगारी, आदिवासी र जनजाति जनतालक्षित कार्यक्रमको व्यापक परिचालन, गरिब, दुःखीलाई निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा आफ्नो एजेन्डा रहेको उहाँले बताउनुभयो । ‘स्वदेशमै उद्योगधन्दा सुरू गर्नुपर्ने आवश्यकता छ, युवालाई उद्यमशील बनाएर राजनीतिक गतिविधिमा संलग्न गर्दै उनीहरूलाई नै पार्टीको नेतृत्व पुस्तान्तरण गर्नु छ,’ लिम्बूले भन्नुभयो ‘युवालाई बोलीले होइन, व्यवहारले समृद्ध बनाउँदै पार्टीको नेतृत्व सुम्पिनु छ ।’ क्षेत्र नम्बर १ मा दुई वटा नगरपालिका र दुई वटै गाउँपालिका छन् । उर्लाबारी र लेटाङ नगरपालिका तथा मिक्लाजुङ र केराबारी गाउँपालिका क्षेत्र नम्बर १ मा समेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय