उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले मेलाका नाममा विभिन्न ठाउँमा जुवाजन्य खेलहरु भइरहेको उल्लेख गर्दै उर्लाबारीमा मेलाका नाममा जुवाजन्य खेल नहुने प्रष्ट पार्नुभएको छ ।
उर्लाबारीमा आयोजना हुन लागेको मिनी महोत्सव लक्षित गरेर मेयर खरेलले सो कुरा बताउनुभएको हो । नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारणसभामा बोल्दै उहाँले कानुनले बन्देज लगाएका खेलहरु मेलामा खेलाउन नगरपालिकाले रोक्ने बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालासमेत उपस्थिति रहेको उक्त कार्यक्रममा उर्लाबारी शान्ति सुरक्षाको हिसाबले क्रमशः जोखिमयुक्त बन्दै गएको बताउनुभयो । विभिन्न आपराधिक घटना उजागर भैरहँदा सुरक्षा निकायको भुमिका प्रभावकारी नदेखिएको मेयर खरेलको भनाई थियो । उहाँले आपराधिक गतिविधि सँगसँगै लागु औषधको दुव्र्यसनी बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्नुभयो । खरेलले उर्लाबारीलाई सुरक्षित र भयमुक्त नगर बनाउन सबैले सहयोग गर्नुपर्ने खाँचो औल्याउनुभयो ।
पत्रकारलाई स्वच्छ, मर्यादित र निष्पक्ष भई कलम चलाउन उहाँले सुझाब दिनुभयो । विकास निर्माण, सुशासनका सवालमा मात्रै नभएर अनियमितताका विरुद्ध पत्रकारहरु सधै क्रियाशिल हुनुपर्नेमा उहाँको जोड थियो ।
शुक्रबार उर्लाबारी ७ स्थित कञ्चनजंघा होटलमा आयोजित पत्रकार महासंघ मोरङको वार्षिक साधारणसभाको उद्घाटन महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले गर्नुभएको थियो । महासंघका पुर्व केन्द्रिय सभापति धर्मेन्द्र झा, उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेल, पत्रकारसम्बद्ध दर्जनबढी संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको कार्यक्रममा आतिथ्यता रहेको थियो ।























