दिलिप पोखरेल
उर्लाबारी, उर्लाबारी —२ स्थित श्री सुनपकुवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ६६औँ वार्षिकोत्सव कार्यक्रम विधिवत रुपमा आजबाट उद्घाटन भएको छ ।
प्रदेश नम्बर १का प्रदेश प्रखुम पर्शुराम खापुङ्ले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रदेश प्रमुख खापुङ्ले कार्यक्रममा मन्तव्य राख्ने क्रममा शिक्षा समग्र विकासको पहिलो शर्त भएको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै खापुङले समय अनुकुल सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न र सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावको आकर्षण बढाउन आवश्यक रहेको बताए । यसका लागि सामुदायिक विद्यालयको शैक्षिक प्रणालीलाई पाठ्यक्रममा मात्रै सिमित नभएर प्रविधिमैत्री शैक्षिक प्रणालीका रुपमा विकास गर्दै लैजान आवश्यक रहेको खापुङ्को भनाई छ ।
यस्तै उनले सामुदायिक विद्यालयमा निम्न र मध्यम आर्थिक अवस्था भएका अभिभावकका छोराछोरी पढ्ने भएका कारण सामुदायिक विद्यालयको शैक्षिक प्रणालीलाई आवश्यताका अधारमा परिवर्तन गर्दै उत्पादनमुखी , सर्बसुलभ र प्रविधीमैत्री शैक्षिक प्रणालीलाई अपनाएर निम्न वर्गका छोराछोरीलाई पनि सम्पन्न वर्गका छोराछोरी सरह शिक्षामा सबैको सहज पहुच पुर्याउन संघ, प्रदेश र स्थानिय तहका सरकारले काम गर्नुपर्ने बताएका छन् ।
यस्तै कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका उर्लाबारी नगरपालीकाका नगर प्रमुख गंगाप्रसाद खरेलले जिवनको पहिलो सिकाई नै शिक्षाबाट प्राप्त हुने बताउदै यसको पहुँच सबैमा पुर्याउनुपर्ने बताए । यस्तै उनले सामुदायिक विद्यालयहरुले नैतिक शिक्षामा बढि जोड दिनुपर्ने बताए । “यो छ महिना अबधिमा म नगरका सबै सामुदायिक विद्यालयमा पुगेर अनुगमन गरेको छु, धेरैजसो विद्यालयमा ७ कक्षामा अध्ययन गर्ने विद्यार्थीले गुणन समेत भन्न नजानेको अवस्था पाएको छु ।” कार्यक्रममा बोल्दै मेयर खरेलले भने—” हाम्रा विद्यार्थीहरु सामान्य कुराहरु समेत नजान्ने अवस्थामा हुनुको कारण शिक्षक, अभिभावक र हामी स्वयम् स्थानिय सरकारको कमजोरी हो । शिक्षा क्षेत्रको समग्र विकासमा नगरपालिका लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । यसको लागि सबैको सकरात्मक सुझावको अपेक्षा राखेका छौँ ।”
यस्तै उनले बच्चा पढ्न गएको छ भनेर अभिभावहरुलाई ढुक्क नहुन आग्रह समेत गरेका छन् ।उनले बच्चाहरुको संगत कस्तोसँग भईरहेको छ, अभिभावकलाई यसको जानकार राख्न अनुरोध गरेका छन् । धेरैजसो गलत संगतका कारण अप्रिय घटनाहरु हुने गरेकोले यसमा सजग हुन मेयर खरेलले अभिभावहरुलाई आग्रह गरेका छन् ।
महोत्सवमा स्वागत मन्तव्य राख्ने क्रममा विद्यालयका प्रधानाध्यापक भुमीराज प्याकुरेलले स्थापना कालदेखि विद्यालयको वृद्धि विकासमा सहयोग पुर्याउने सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
यस्तै उक्त अवसरमा विद्यालयलाई सहयोग पुर्याउने स्थानिय चन्दादाता एवम् सहयोगीहरुलाई सम्मान् समेत गरिएको छ ।
आजदेखि सुरु भएको विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम ३ दिनसम्म चल्नेछ ।वि.सं.२०१४ सालमा स्थापना भएको उक्त विद्यालयले आज ६६औँ वार्षिकोत्सव स्मारिका २०७९ समेत सार्वजनिक गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दाहालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि खापुङ्, विशिष्ट अतिथि मेयर खरेल सहित प्रदेश नम्बर १(क) का प्रदेश सांसद उमाकान्त गौतम, नगर उपप्रमुख मिना खतिवडा पौडेल, नेपाल सरकारका सचिव एवम् सुनपकुवाका पुर्व विद्यार्थी तोयम रायमाझी, नौ वडाकै वडा अध्यक्ष एवम् अन्य जनप्रतिनिधी ,राजनितिक दलका नेता लगायतको आतिथ्यता रहेको थियो ।
मंगलबारे पेजबाट साभार























