उर्लाबारी । दशैं–तिहार २०७९ को अवसरमा उर्लाबारी क्लबले हाउजी खेलाउने भयो । उर्लाबारी नगरपालिकाले स्वीकृतिका लागि सिफारिस पनि दियो । तर, चाडपर्वका कारण सुरक्षा दिन नसक्ने भन्दै प्रहरी प्रशासनले जानकारी गराएपछि हाउजी खेलाउने प्रयास तुहियो ।
त्यतिबेला हाउजी खेलाउनका लागि एमालेनिकट युवाहरु अघि सरेका थिए । त्यसमा उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले पनि साथ दिनुभएको थियो । हाउजी खेलाउन नगरपालिकाले सिफारिस गरेपनि प्रहरी प्रशासनले सुरक्षा दिन नसक्ने बताएपछि मेयर खरेल प्रहरी प्रमुख मिलनजंग थापासँग खुबै रिसाउनुभएको थियो । भेटघाटमा राम्रै बोलचाल भएपनि मेयर खरेल प्रहरी निरीक्षक थापासँग भित्रभित्रै रुष्ट हुनुहुन्थ्यो । त्यतिकैमा मंसिर ४ गते प्रदेश र संघीय सरकारको निर्वाचन सकिने वित्तिकै उर्लाबारी युवा क्लबले मिनी महोत्सव आयोजनाका लागि अनुमति लियो । उर्लाबारी नगरपालिकाले नै अनुमतिमा लक्की सेभेनदेखि हाउजीसम्म खेलाउन स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालय मोरङ पत्र पठाएको छ । तर, मेयर खरेलले आफुलाई थाहा नै नभई नगरपालिकाबाट अनुमतिका लागि सिफारिस भएको बताउँदै आउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले भने जुवाजन्य खेलबाहेक मात्रै अनुमति दिएको छ । प्रहरी प्रशासनले दशैं–तिहारमा हाउजी खेलाउन असहयोग गरेको भन्दै रुष्ट मेयर खरेलले मेलामा लक्की सेभेन, हाउजीलगायत कुनै खेल सञ्चालन गर्न दिनुभएन । उहाँले मिनी महोत्सवको नाममा जुवाजन्य खेलहरु भए तुरुन्त नगरपालिकालाई खबर गर्न नगरबासीलाई सार्वजनिक कार्यक्रममै अपिल गर्नुभयो । मेयर खरेलले महोत्सव लागेको क्षेत्रका स्थानीयलाई फोन गरेर दैनिक त्यहाँको बारेमा चासो राखिरहनुभएको छ ।
लक्की सेभेन र हाउजी जुवाजन्य खेल हुन् त ?
जुवा भन्ने वित्तिकै मानिसले सामान्यतयाः तास खेललाई बुझ्दछन् । जुवा ऐनको दफा २ मा ‘जुवा’ भन्नाले सम्पति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनु पर्छ भन्ने उल्लेख छ । यसबाट सम्पति हार्ने वा जित्ने गरी खेलिएका तास लगायत अन्य खेलहरु जस्तैः क्यारेमबोर्ड, गुर्जा, पुल, पासा, कौडा, चिठ्ठा आदी खेलहरु जुवाको परिभाषा भित्रै पर्दछन् । त्यतिमात्र हैन देश भित्र वा विदेशमा खेलिने फुटवल लगायतका विभिन्न खेलहरुमा यो या त्यो टिमले जित्छ भन्ने आधारमा लाखौं लाख रुपैयाका बाजी थाप्ने कार्य समेत जुवाकै परिभाषा भित्र पर्दछ । त्यसअर्थमा पनि लक्की सेभेन र हाउजी जुवाजन्य खेल भित्रै पर्छन् । तर, प्रहरी प्रशासनकै मिलोमतोमा लक्की सेभेन र हाउजी पूर्वका धेरै शहरमा हुने गरेका छन् । प्रहरी प्रशासनले राम्रै रकम लिएर सुरक्षा प्रदान गर्ने गरेको जानकारहरु बताउँछन् ।
५ बर्ष लक्की सेभेन र हाउजी रोकिन्छ त ?
आफुले अनुमति दिँदा प्रहरीले रोकेको रिस फेर्नमात्रै मेयर खरेल तातिनुभएको हो की साँच्चिै विकृति रोक्न मैदानमा उत्रिनु भएको हो भन्ने विषय चासोका साथ हेरिरहेको छ । मेयर खरेल स्वम् मैदानमै उत्रिएर लक्की सेभेन र हाउजी रोक्न लागि पर्नुभएको छ । त्यसअर्थमा पनि अबका ५ बर्ष यस्ता खेलहरु यहाँ सञ्चालन हुने सम्भावना देखिन्न । एउटा समूहले आयोजना गर्दा अर्को समूहले रोक्ने श्रंखृला चल्ने निश्चित छ । त्यसैकारण पनि मेयर खरेलले उर्लाबारीमा पूर्ण रुपमा पाँच बर्ष लक्की सेभेन र हाउजी रोक्न नसके उहाँमाथी नै प्रश्न चिन्ह खडा बन्ने देखिन्छ ।























