उर्लाबारी । मोरङको उर्लाबारीमा जारी प्रथम उर्लाबारी भेट्रान फुटबल प्रतियोगिताको उपाधिका लागि युनाइटेड भेट्रान विराटनगर र धरान भेट्रान सुनसरीबीच हुने भएको छ ।
उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा उर्लाबारी भेट्रान क्लबको आयोजनामा सञ्चालन भइरहेको सो प्रतियोगिताको उपाधिका लागि भोली यी दुई टोलीबीच प्रतिष्पर्धा हुने भएको हो । उपाधि जित्नेले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु पर्ने छ । दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् । युनाइटेड भेट्रान विराटनगरले दुधे भेट्रान शिवसताक्षीलाई २–० गोल अन्तरले हराउँदै फाइनल पुगेको हो भने धरान भेट्रान सुनसरीले आयोजक उर्लाबारी भेट्रानलाई सडनडेथमा पराजित गर्दै फाइनलको यात्रातय गरेको थियो । फाइनल खेल निकै प्रतिष्पर्धात्मक हुने आयोजक समितिका अध्यक्ष दिपक पोमुले जानकारी दिनुभयो ।
मंसिर १६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेश १ को उर्लाबारी भेट्रान फुटबल क्लब, राजघाट भेट्रान क्लब, मिल्स भेट्रान्स फुटबल क्लब विराटनगर, विराट मेघा भेट्रान विराटनगर, युनाइटेड भेट्रान विराटनगर, हाम्रो भेट्रान इटहरी, दमक लखनपुर भेट्रान, दुधे भेट्रान शिवसताक्षी, हाम्रो भेट्रान धरान, शिवसताक्षी भेट्रान झापा, राइजिङ भेट्रान र एभरेष्ट भेट्रान मोरङको सहभागिता रहेको सदस्य दिप लिम्बूले बताउनुभयो । उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले उद्घाटन गरेको उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दिपेन्द्र धिमाल, जिल्ला फुटबल संघ मोरङका अध्यक्ष संजिव बुढाथोकी, राष्ट्रिय खेलाडी रञ्जित धिमाललगायतको उपस्थिति रहेको थियो । भोली समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलसहितको उपस्थिति रहने आयोजकका सदस्य सञ्जिब सुवेदीले जानकारी दिनुभयो । फाइनल खेलअघि उर्लाबारी र दमकका महिला फुटबल खेलाडीबीच मैत्रीपूर्ण खेल हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय