उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा पाँच विद्यार्थी संगठनको गठबन्धन भएको छ ।
गठबन्धनबाट साझा उम्मेद्वारसमेत छनौट गरिएको हो । निर्वाचन प्रयोजनका लागि क्याम्पसमा दर्ता भएका ६ विद्यार्थी संगठनमध्ये नेविसंघ बाहेक अन्य संगठनको गठबन्धन भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, जसपानिकट समाजवादी विद्यार्थी युनियन, राप्रपानिकट राप्रविसंघ र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले संयुक्त प्यानल बनाएर अघि बढेका छन् । सभापतिसहित कोषाध्यक्ष र चार सदस्य अनेरास्ववियु, सचिव र एक सदस्य अखिल क्रान्तिकारीमा उम्मेद्वार बनाएको छ । समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले एक÷एक सदस्यमा उम्मेद्वार पाएको छ । जसअन्तरगत सभापतिमा प्रिति दाहाल, सचिबमा थानेश्वर अधिकारी (आकाश) र कोषाध्यक्षमा भुवन मंग्रावतीलाई उम्मेद्वार बनाइएको छ । दाहाल र मंग्रावती अनेरास्ववियुमा आबद्ध रहेका छन् भने सचिब अधिकारी अखिल क्रान्तिकारीमा आबद्ध रहेका छन् ।
त्यस्तै, सदस्यमा अनेरास्ववियुबाट सर्मिला चापागाई, चिराग श्रेष्ठ, दिवस ढुंगाना र हिक्मत थापा उम्मेद्वार बनेका छन् । सदस्यमै अखिल क्रान्तिकारीबाट दिपेन्द्रबहादुर बराईली (दिपेन), राप्रविसंघबाट अजय खतिवडा, अनेरास्ववियूबाट विनोद नेपाल, समाजवादी विद्यार्थी युनियनबाट विश्वास राई उम्मेद्वार बनेका छन् ।
अनेरास्वविय उर्लाबारी बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष गौतमबद्ध तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यार्थी नेताहरुको बाक्लो उपस्थित रहेको थियो । पार्टीका जिम्मेवार नेताहरुले पनि उर्लाबारी बहुमुखी क्याम्पसमा सबै एक ढिक्का बनेर क्याम्पसको हितमा काम गर्न आवश्यक रहेको औलाएका छन् ।
नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलाले मन मिलेर गठबन्धन भएकाले सबैलाई जिताउन विद्यार्थीहरु लागि पर्नु पर्नेमा जोड दिनुभयो । सबैको उद्देश्य क्याम्पस र विद्यार्थीहरुको हितमा काम गर्ने भएकाले एक ठाउँमा उभिनु परेको उहाँको भनाई छ ।























