उर्लाबारी । चैत्र ५ गते हुने स्ववियु निर्वाचनको चहल पहल बढेको छ । उम्मेद्वारहरुले विद्यार्थीसँग भोट माग्न ब्यस्त देखिन्छ । लामो समयपछि स्ववियु निर्वाचन भएकाले आफ्नो पार्टीनिकट विद्यार्थी संगठनका उम्मेद्वार जिताउन नेताहरुको दौडधुप बढेको छ ।
यसैगरी उर्लाबारी बहुमुखी क्याम्पसमा पनि चुनाबी सरगर्मी तातेको छ । नेपाली कांग्रेसनिटक नेपाल विद्यार्थी संघ चुनाबमा एक्लै होमिएको छ भने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, जसपाको समाजवादी विद्यार्थी युनियन, राप्रपाको राप्रविसंघ र एकीकृत समाजवादीको अनेरास्ववियूले संयुक्त प्यानल रहेको छ । हालसम्मको निर्वाचनमा अनेरास्ववियुले मात्रै निर्वाचन जितेको इतिहास छ । नेविसंघ उर्लाबारी नगर सभापति विवेक कार्कीलाई स्ववियु सभापतिको उम्मेद्वार बनाएको छ भने अनेरास्ववियूको नेतृत्वमा पाँच विद्यार्थी संगठनबाट अनेरास्ववियू मोरङ सदस्य प्रिती दाहाल उम्मेद्वार बनेकी छिन् । दुबैले आ–आफ्नो जित सुनिश्चित रहेका बताउँदै आएका छन् । हालसम्म नेविसंघले जितेको इतिहास नभएकाले आफुले जितेर इतिहास रच्ने कार्कीको योजना छ । यता दाहाल पनि पहिलो महिला स्ववियु सभापति बनेर इतिहास रच्ने लक्ष्यमा रहेकी छिन् । हालसम्म महिलाले उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु सभापति जितेका छैनन् । महिला विद्यार्थीहरुको संख्या बढि भएपनि पुरुषहरु मात्रै नेतृत्वमा आउने गरेका कारण यस पटक महिला नेतृत्वमा जोड दिइरहेको स्ववियुकी पूर्व कोषाध्यक्ष ज्योति चौहानले बताइन् । कार्कीको नेविसंघ प्यानलमा सचिबको उम्मेद्वार देबेन्द्र पौडेल र कोषाध्यक्षको उम्मेद्वार भुवन श्रेष्ठ रहेका छन् । त्यस्तै, दाहालको अनेरास्ववियूको प्यानलबाट सचिबमा थानेश्वर अधिकारी (आकाश) र कोषाध्यक्षमा भीमबहादुर मंग्राती(भुवन) उम्मेद्वार रहेका छन् ।























