
उर्लाबारी । मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटौँ भोजपुर ट्रेल रेसको आयोजना गर्ने भएको छ ।
विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मानमा उनको गृहजिल्ला भोजपुरमा ‘भोजपुर ट्रेल रेस’ आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष खेमराज राईले जानकारी दिनुभयो । फाउण्डेशनका अध्यक्ष राईका अनुसार चैत्र १८ गते आयोजना हुने उक्त रेसमा २ वटा इभेन्ट हुने छ । यसको लागि मुख्य प्रतिस्पर्धा ५० किलोमिटर दुरीको ट्रेल रेस हुनेछ । यस प्रतिस्पर्धामा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावक, धाविकाहरु सहभागी हुने आयोजकले जानकारी गराएको छ ।
उक्त रेसमा दुवै समूहतर्फका प्रथम, दोश्रो, तेश्रो, चौथो हुँदै सातौंसम्मका बिजेता धावक धाविकालाई जनही क्रमशः ५० हजार, २५ हजार, १४ हजार, १२ हजार, १० हजार, ८ हजार र ६ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
सोही प्रतियोगितामा सहभागी हुने पहिलो दोस्रो र तेस्रो हुने भोजपुर जिल्लाका धावक, धाविकाहरुलाई छुट्टै पुरस्कार दिइनेछ । पहिलोलाई नगद ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार प्रदान गरिनेछ ।
भोजपुरका खेलाडीहरुको प्रोत्साहन र हौसलाका लागि हामीले छुट्टै पुरस्कार दिन लागेका हौँ । उक्त पुरस्कारका लागि भोजपुरकै हुनपर्नेछ, फाउण्डेसनका कोषाध्यक्ष नुतन राईले भन्नुभयो । यस संस्करणमा १० किलोमिटर रेसको पनि आयोजना हुने आयोजकले जनाएको छ ।
१० किमि रेसमा सहभागी भई प्रथम, दोश्रो र तेश्रो हुने धावक धाविकालाई जनही क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । यस प्रतियोगितामा पनि पौवादुम्मा गाउँपालिकाका स्थानीय प्रथम, दोस्रो र तेस्रो हुनेलाई धावक धाविकालाई पनि हौषला स्वरुप क्रमशः नगद ३ हजार, २ र नगद १ हजार प्रदान गरिनेछ । सोही ट्रेल रेसमा भेट्रान धावकहरुको पनि प्रतिस्पर्धा रहने छ । भेट्रान धावकको प्रोत्साहन स्वरुप पहिलो हुनेलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । भोजपुरको पौवादुम्मा गाउँपालिकाको सानोदुम्माबाट रेसको सुरुवात भएर बास्तिम, अखुवाखोला, पारपानी भोजपुर बजार, तिवारी भञ्ज्याङ हुँदै सानोदुम्मामै समापन हुने फाउण्डेसनका सचिव केशर राईले जानकारी दिनुभयो । यो रेसमा सहभागीताको लागि फाउण्डेशनको आधिकारीक वेबसाइटबाट अनलाइनमार्फत पनि फारम भर्न सकिने आयोजकले बताएको छ ।
भोजपुर ट्रेल रेसको समापन कार्यक्रममा चर्चित हास्यकलाकार उमेश राई ‘फुलन्देको आमा’ को विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । भोजपुर ट्रेल रेसलाई निरन्तरता दिँदै पर्यटन प्रर्वद्धनका लागि राष्ट्रिय कलाकारहरुलाई पनि समावेश गरिएको फाउण्डेसनका सह–सचिव बिजेन्द्र हाङबाङ राईले जानकारी दिनुभयो ।