उर्लाबारी । २०७३ सालपछि उर्लाबारी बहुमुखी क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले एकाएक तताएको छ । मूल राजनीतिको आधारशीला एवम् नर्सरीको रूपमा रहेको विश्वविद्यालयको राजनीतिलाई आम चासोको साथ हेरिनुका साथै विद्यार्थी पनि आफ्ना हक, हित र आवाजलाई मुखरित गर्ने प्रतिनिधि पाइनेमा आशावादी देखिएका छन् ।
चैत ५ गते हुने निर्वाचनका लागि यतिखेर उर्लाबारी बहुमुखी क्याम्पसमा दुई वटा समुह चुनावी मैदानमा रहेको छ । एमाले निकट अनेरास्ववियुको नेतृत्वमा ५ संगठनबाट अध्यक्षको उम्मेद्वार प्रिती दाहाल र नेबिसंघका विवेक कार्कीको नेतृत्वमा विद्यार्थीहरु चुनावी अभियानमा रहेका छन् । उर्लाबारी बहुमुखी क्याम्पसमा १३ सय बढी विद्यार्थीले मतदान गर्नेछन् । पूर्वी मोरङकै शैक्षिक हबका रुपमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई यहाँका राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएकाले पनि चुनावी माहोल तिब्र रुपमा तातिएको छ ।
उर्लाबारी बहुमुखी क्याम्पसको इतिहासमा हालसम्म कुनै पनि विद्यार्थी संघ वा संगठनबाट सभापतिमा महिला निर्वाचित हुन सकेका छैनन् । क्याम्पसमा हालसम्म पूर्णप्रसाद धमला, जय रिजाल, गंगाप्रसाद बाँस्तोला, अशोककुमार राई, महेन्द्र अधिकारी, राघवेन्द्र कार्की र गणेश घिमिरे स्ववियु अध्यक्ष बनेका छन् । उनीहरु सबै अनेरास्ववियुबाट निर्वाचित भएका हुन् । उर्लाबारी क्याम्पसको इतिहासमा अनेरास्ववियुकै दबदबा रहेका कारण पनि यसपटकको निर्वाचनमा अनेरास्ववियुले महिला उम्मेद्वार बनाएकाले उनी निर्वाचित भए पहिलो महिला अध्यक्ष बन्नेछिन् । उर्लाबारी क्याम्पसमा अनेरास्ववियुसहित माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियू, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राप्रपा निकट राप्रविसंघको संयुक्त प्यानलबाट उम्मेद्वार बनेकी दाहाल उर्लाबारी बहुमुखी क्याम्पसको पहिलो महिला स्ववियू अध्यक्ष बन्ने दाउमा छिन् । यसअघि भएका सम्पूर्ण निर्वाचनमा अनेरास्ववियुले जितेको इतिहास छ । त्यसैकारण पनि दाहाल विजयी हुने सम्भावना प्रवल छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय