उर्लाबारी । अपराध अनुसन्धानमा अब्बल कहलिनुभएका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्नुभएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट उर्लाबारीको कमाण्ड सम्हाल्न प्रहरी निरीक्षक नेम्वाङ आउनुभएको हो । नेम्बाङ प्रहरी निरीक्षक भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पहिलो कमाण्ड सम्हाल्नुभएको छ ।

प्रहरी नायब निरीक्षक हुँदा पनि उहाँ उर्लाबारीमा कार्यरत रहनुभएको थियो । पहिलो पटक कमाण्ड उर्लाबारीबाट सम्हाल्ने अवसर पाएको र इमान्दारितापूर्वक काम गर्ने प्रहरी निरीक्षक नेम्बाङले प्रतिबद्धता जाहेर गर्नुभएको छ । संखुवासभाको मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने क्रममा नेम्बाङसहित पाँच जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको थियो भने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सर्वोत्कृष्ट प्रहरी घोषणा भइसक्नु भएका नेम्वाङ अपराध अनुसन्धानमा अब्बल मानिनु हुन्छ । उर्लाबारीको कमाण्ड सम्हाल्नु भएका प्रहरी निरीक्षक नेम्बाङ उर्लाबारीआसपासको भूगोल र यहाँका बारेमा जानकार हुनुहुन्छ । त्यसैकारण पनि नेम्बाङले शान्ति सुरक्षा प्रभावकारी बनाउन उर्लाबारीबासीले आशा गरेका छन् ।
यस्ता छन् प्रहरी निरीक्षक नेम्बाङलाई चुनौति
उर्लाबारीमा पछिल्लो समय मौलाउँदै गइरहेको यौन ब्यवसाय प्रहरीका लागि टाउको दुखाईकै बिषय बन्ने निश्चित छ । उर्लाबारीका केही होटलहरुले महिलाहरु नै राखेर यौन धन्दा चलाइरहेका छन् भने केही होटलले फोनमार्फत पनि महिला मिलाइदिने गरेको जानकार स्रोत बताउँछ । यसअघि ती होटलबाट प्रहरीले नै मासिक रुपमा रकम लिएर आँखा चिम्लिदै आएको बताइन्छ । यस विषयमा ती होटल सञ्चालकहरु पनि बोल्न चाहदैनन् । विगतमा भन्दा अहिले उर्लाबारीमा यौन धन्दा मौलाएको छ ।
अर्को चुनौतिको विषय हो, लागु औषध । उर्लाबारी अहिले लागु औषधको अखडा बनिरहेको छ । केही औषधि पसलहरुले समेत प्रतिबन्ध औषधि युवा पुस्तालाई लागु औषधमा विक्री गर्दै आएका छन् । एकान्त र खोला किनारा क्षेत्रमा लागु औषध प्रयोग गर्ने र किनबेचका लागि प्रयोग गरिँदै आएको छ । लागु औषधकै कारण उर्लाबारीमा अपराधिक गतिबिधि हुने गरेको छ ।
राजनीति आडमा अपराधिक घटनाहरु मिलाउने गरिएका कारण एकपछि अर्को घटना घटिरहेका छन् । यसलाई न्यूनिकरण गर्न पनि नयाँ प्रहरी प्रमुख नेम्बाङले ध्यान दिन आवश्यक छ । अपराध अनुसन्धानमा अब्बल कहलिनु भएका नेम्बाङले इलाका प्रहरी कार्यालय उर्लाबारी क्षेत्रभित्र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने बताउनुभयो । गुण्डागर्दी र लागूऔषध कारोबारीप्रति कठोर हुने उहाँले प्रतिबद्धता जनाउनुभयो ।उहाँले कानुन पालन गर्ने र गराउने क्रममा कोही कसैसँग आफ्नो सम्झौता नहुने अडान राख्नुभयो । कानुनले दिएको सीमाभित्र रहेर हुने सबै कार्यलाई सुरक्षा दिने तर कानुन विपरीतका काममा कसैको कुरा नसुन्ने उहाँको भनाई छ । उहाँले अपराध अनुसन्धान र नियन्त्रण सँगसँगै नागरिक र प्रहरीबीच सहकार्य र समन्वयका कार्यक्रमहरूलाई जोड दिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय