उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ऐतिहासिक जीत हासिल गरेको छ । ऐतिहासिक जित हासिल गरेको नेविसंघले आज उर्लाबारीमा ¥याली निकालेको छ । क्याम्पसबाट सुरु भएको ¥यालीले नगर परिक्रममा गरेको थियो । नेविसंघले पहिलो पटक स्ववियु सभापतिसहित प्यानलै जितेको थियो । सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका विवेक कार्की निर्वाचित भएका छन् ।
कार्कीले ६५१ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्ववियुकी प्रीति दाहालले ३२५ मत पाएकी छिन् । दाहाल माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, राप्रपाको राप्रविसंघ, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र जसपाको समाजवादी विद्यार्थी युनियनका तर्फबाट संयुक्त उम्मेदवार हुन् ।
यस्तै सचिवमा नेविसंघका देवेन्द्र पौडेल ५९५ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारीका थानेश्वर अधिकारीले ३७० मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा भुवन श्रेष्ठ, सदस्यहरूमा सुजन शंकर, दिपेश चौधरी, अन्जना न्यौपाने, सन्दीप बुढाथोकी, शुसिला कार्की, कहना विश्वकर्मा, विनिता गौतम र विराट थापा विजयी भएका छन् ।























