उर्लाबारी । प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको जनप्रदर्शनको क्रममा घाइते पदम लिम्बु (लाजेहाङ)को निधन भएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा लाठीचार्जबाट टाउको गम्भीर चोट लागेका लाजेहाङ निधन भएको हो । उपचाररत लाजेहाङको शुक्रबार विहान २ः३० बजे बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा निधन भएको जनाइएको छ । चैत ५ गते बिराटनगरमा भएको ‘कोशी’ प्रदेश खारेज गरी पहिचानसहितको पुनः नामाकरणको मागसहित जनप्रदर्शनको क्रममा लाजेहाङ गम्भिर घाइते भएका थिए प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठी चार्जमा घाइते लाजेहाङ टाउकोमा गम्भीर चोट परेको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह–कमाण्डर समेत रहेका लाजेहाङ्को थप उपचारको लागि काठमाडौ लाने तयारी थियो । तेह्रथुमको जिरिखिम्ती निबासी लाजेहाङको घटनाको विषयमा सङघर्ष समितिले आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष प्रेम येक्तेनले बताएका छन् ।























