उर्लाबारी । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले धरान–१५ का पदम लिम्बु लाजेहाङको हत्याको राजनीतिक बदला लिई छाड्ने उद्घोष गरेको छ ।
कोशी प्रदेश नामांकन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते लाजेहाङको शुक्रवार बिहान २ः३० बजे निधन भएपछि सो प्रतिकृया आएको हो । संयुक्त संघर्ष समितिले विज्ञप्तिमा भनिएको छ ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्दछ ।’ लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न समेत विज्ञप्तिमा माग गरिएको छ । लाजेहाङलाई शहिद घोषणा गर्न माग गर्दै विज्ञप्तिमा लाजेहाङको हत्याको राजनीतिक बदला लिई छाडने, हत्याराहरूलाई कानुनी कठघरामा उभ्याउने, कोशी प्रदेश नाम खारेज गराउने प्रतिबद्धता जनाउँदै संयुक्त संघर्ष जारी रहने जनाइएको छ ।
लाजेहाङको बिपी प्रतिष्ठान अस्पताल आइसियुमा उपचार भइरहेको थियो । थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमान्डु लैजाने तयारी गरिरहेको अवस्थामा वीरतापूर्ण मृत्युवरण गरेको विज्ञप्तिमा छ । टाउकोमा चोट लागेका लाजेहाङलाई बुधवार राती बान्ता गरेपछि बेहोस भएको अवस्थामा उपचारार्थ बिपी पु¥याइएको थियो ।























