उर्लाबारी । झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर हस्तान्तरण गरेको छ ।
आज नेकपा एमालेका अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले एक कार्यक्रमका बीच घर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका ओलीले संस्थाका शेयर सदस्यहरुलाई घर हस्तान्तरण गर्नुभयो ।
दमक–४ मा रहेको एक बिघा १८ कट्ठा जग्गामा ५७ आवास निर्माण गरी र हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो । कम्तीमा १० धुरदेखि बढीमा १३ धुर सम्मका जग्गामा घर बनेका छन् भने ४३ लाखदेखि अधिकतम ५१ लाखसम्मका घर रहेको उहाँले बताउनुभयो । संस्थाका अध्यक्ष भट्टराईले सामूहिक रुपमा निर्माण गरिएको आवासमा खुला ठाउँ, बाल उद्यानसहितका सुविधा सदस्यहरुले पाएको बताउनुभयो । उहाँका अनुसार प्रत्येक घर एक हजार ७५ वर्ग मिटरका रहनेछन् । सबै घर एकै प्रकृतिबाट निर्माण गरिएको छ । संस्थाका अनुसार ५७ वटा घर निर्माण गरिएको छ । २२ करोड ८३ लाख रुपैयाँ लागतमा उक्त घरहरु निर्माण गरिएको छ ।
सहकारीले सुरुवातमा सदस्यबाट लागत मूल्यको १५ प्रतिशत रकम लिने र त्यो बाहेक एकमुष्ट रकम झिक्न नसक्ने सदस्यहरुलाई २० बर्षे किस्ताबन्दीमा घर उपलब्ध गराएको छ । डेढ तले घर निर्माण गरिएको छ भने बस्तीमा ढल, खानेपानी, टेलिफोनलगायत आवश्यक सबै पूर्वाधारहरु रहेको ब्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिनुभयो । ‘५ बर्ष किनबेच गर्न पाईदैन र त्यसपछि किनबेच गर्दा पनि सहकारीका सदस्यलाई नै विक्री गर्नु पर्ने हुन्छ’, व्यवस्थापक बगालेले भन्नुभयो ।























