उर्लाबारी । कोशी प्रदेश खारेजको माग गर्दै पहिचानवादीहरुले आन्दोलन जारी राखेका छन् ।
प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आज एक घण्टा सांकेतिक रुपमा चक्काजाम गरेको हो । कोशी प्रदेश नामांकन खारेजीको मागसहित प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बु लाजेहाङलाई सहिद घोषणा र पुनः नामकरणको माग राज्यले सम्बोधन नगरेसम्म शव जिम्मा नलिने उद्घोषसहित सडक आन्दोलन गरिरहेको छ ।
किरात लिम्बूवान घोषणा नभएसम्म आन्दोलन नरोक्ने र अझै कडा बनाएर लैजाने संयुक्त संघर्ष समितिले जनाएको छ । पहिचानबादी नेता अर्जुन जम्नेली राईले पहिचानका आधारमा प्रदेश नं. १ को नामाकरण नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो । प्रहरीको कुटाईबाट मृत्यु भएका पदम लिम्बु लाजेहाङलाई सहिद घोषणासहित किरात लिम्बूवान प्रदेश नामाकरण गरिनु पर्ने उहाँको भनाई छ ।
राज्यले आन्दोलनमा दमन गर्न खोजे त्यसको प्रतिकारमा उत्रिने पहिचानवादी नेता मात्रिका धिमालले चेतावनी दिनुभयो । कोशी प्रदेश खारेज नगरेसम्म आन्दोलन नरोकिने उहाँको भनाई छ ।























