उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले तालाबन्दी गर्ने क्रममा वडाध्यक्ष चिन्तामणि पौडेलमाथि कुटपिट गरेको घटनाप्रति यहाँका राजनीतिक दलले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
तालबन्दी गर्ने क्रममा वडाध्यक्ष पौडेलमाथि कुटपिट गरिएको र अन्य जनप्रतिनिधि तथा कर्मचारीलाई दुरव्यवहार गरिएको घटनामा घोर भत्र्सना गर्दै घटनामा संलग्न ब्यक्तिलाई कडा कारबाहीको माग गरेका छन् । उनीहरुले उर्लाबारी नगरपालिका भित्रको शान्ति सुरक्षाको उचित व्यवस्था गरि नागरिकले पाउने दैनिक सेवा सबै कार्यालयबाट सुचारु गराउन सम्बन्धित निकायसँग माग समेत गरेका छन् । नेपाली काँग्रेसका कार्यवाहक नगर सभापति राजन रायमाझी, एमाले नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोला, माओवादी केन्द्रका नगर उपाध्यक्ष खगेन्द्र पराजुली, राप्रपाका नगर अध्यक्ष देवीप्रसाद दाहाल, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष डिबी थापाले संयुक्त बिज्ञप्ती जारी गर्नुभएको हो ।
उर्लाबारी ६ को वडा कार्यलयमा तालाबन्दी गर्न पुगेका समूहमा रहेका पथरीशनिश्चरे नगरपालिका–२ का मनोज लिम्बूलगायतले वडाध्यक्ष पौडेलमाथी कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । वडा कार्यालयमा विद्युत मर्मतको काम चलिरहेको बेला वडाध्यक्ष पौडेलमाथि एक्कासी को वडाध्यक्ष भन्दै लिम्बू झम्टिँदै कुटपिटमा उत्रिएको बताइएको छ । कुटपिटबाट वडाध्यक्ष पौडेल सामान्य घाइते भएका छन् । उनले आफूमाथि कार्यालयमा कुटपिट भएको बताएका छन् । वडाध्यक्ष पौडेलले आफूलाई कुटपिट गर्नेविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् । यसैबीच उर्लाबारी वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापामाथि पनि हातपातको प्रयास भएको छ ।























