विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा २४ जना घाइते भएका छन् । मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप हुँदा २४ जना घाइते भएका हुन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर र ४४ सेल अश्रुग्यास प्रहार गरेको छ ।
पहिचानका आधारमा पुनः प्रदेशको नामाङ्कनको माग गर्दै आएका आन्दोलनकारीलाई प्रहरीले रोकेपछि झडप भएको थियो ।
झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १५ जना घाइते भएका छन् । आन्दोलनरत पक्षका ९ जना घाइते भएका थिए । आन्दोलनरत पक्षबाट शिव आङ्दाम्बे, उदय नेम्वाङ,ज्ञानप्रसाद राई एन के दर्नाललगायत ९ जना घाइते भएका हुन् । घाइते मध्ये चार जनाको स्थानीय पारस अस्पतालमा उपचार भइरहेको छ । प्रहरी तर्फ डिएसपी विजय श्रेष्ठसहित १५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।
झडपका कारण एक घण्टा विराटनगरको बसपार्कबाट दक्षिणदेखि रोडेशष चोकसम्मको अवस्था तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १७ राउण्ड हवाई फायर, १३ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । शसस्त्र प्रहरीले ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । झडपपछि कोणसभा गर्दै आन्दोलनकारी फर्किएका छन् । आन्दोलनकारी फर्किएपछि अवस्था सामान्य बनेको छ । गत फागुन १७ गते प्रदेशसभाले प्रदेको नाम कोशी प्रदेश राखेको थियो । भूगोलका आधारमा नाम राखिएपछि पहिचान पक्षधरले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति गठन गरेर पून पहिचानका आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरिरहेका छन् ।























