उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले तालाबन्दी गर्ने क्रममा वडाध्यक्ष चिन्तामणि पौडेलमाथि कुटपिट गरेको घटनाप्रति उर्लाबारी नगरपालिकाको आकस्मिक बैठकले गम्भिर ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाहीको माग गरेको छ ।

आज अपरान्ह बसेको बैठकले जनताको प्रतिनिधिमाथि भएको कुटपिटको घटनाले आतंकित भएको भन्दै प्रशासनसँग सुरक्षाको माग समेत गरेको छ । नगर प्रबक्ता भिष्म बुढाथोकीले बैठकले आज बिहान ११ बजेर ३८ मिनेट जाँदा वडाध्यक्ष पौडेलमाथि भएको कुटपिट र वडा नम्बर ४ र ७ मा भएको दुरव्यवहारको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै दोषी जो भएपनि कडा कारबाहीको माग गरेको जनाउनुभएको छ ।

उर्लाबारी ६ को वडा कार्यलयमा तालाबन्दी गर्न पुगेका समितिमा रहेका पथरीशनिश्चरे नगरपालिका–२ का मनोज लिम्बूलगायतले वडाध्यक्ष पौडेलमाथी कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । वडा कार्यालयमा विद्युत मर्मतको काम चलिरहेको बेला वडाध्यक्ष पौडेलमाथि एक्कासी को वडाध्यक्ष भन्दै लिम्बू झम्टिँदै कुटपिटमा उत्रिएको बताइएको छ । कुटपिटबाट वडाध्यक्ष पौडेल सामान्य घाइते भएका छन् । वडाध्यक्ष पौडेलले आफूलाई कुटपिट गर्नेविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् । यसैबीच उर्लाबारी वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापामाथि पनि हातपातको प्रयास भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय