उर्लाबारी । पहिचानसहितको प्रदेशको नामाकरण गर्न माग गर्दै प्रदर्शनको क्रममा प्रहरीको लठ्ठी प्रहारबाट घाइते भई मृत्यु भएका पदम लिम्बू लाजेहाङको शव अस्पतालबाट अझै उठ्न सकेको छैन ।
प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मृतकलाई सहिद घोषणा र उचित क्षतिपूर्ति तथा कोशी नाम खारेज नभएसम्म लिम्बूको शव नउठाउन घोषणा गरेको छ ।
कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल र आन्दोलनकारी लाजेहाङलाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान राखेको छ । लिम्बूको मृत्यु भएलगत्तै संघीय सरकारले गृहमन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन तथा वार्ता समिति गठन गरेको थियो । छानबिन समितिका संयोजक सुवेदीले काम थालिसकेका छन् ।
कोशी प्रदेश नामांकन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते बेलबारी–२ का पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो । टाउकोमा चोट लागेका उनी ८ गते मंगलबार राति अचानक बेहोस भएपछि उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर, उनको १० गते बिहीबार राती मृत्यु भयो । विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लिम्बूको टाउकोमा लाठी प्रहार भएको थियो । त्यही कारणले लिम्बूको मृत्यु भएको आन्दोलनकारीको दाबी छ । फागुन १७ गते तत्कालिन प्रदेश १ को नाम ‘कोशी प्रदेश’को रुपमा पारित भएको हो । प्रदेशसभामा रहेका ९३ जना सांसदमध्ये कोशीको पक्षमा ८२ जनाले समर्थन गर्दा विपक्षमा ४ मत मात्रै पर्यो । अनुपस्थित ६ जना रहे । त्यसपछि लिम्बुवान र किराँत राज्यका पक्षका पहिचानवादी संघसंगठनहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय