उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले आफु चिठ्ठामा नगरप्रमुख भएको बताउनुभएको छ ।
उर्लाबारी नगरपालिकाको सहयोग र उर्लाबारी–७ स्थित टेक्निकल इन्स्टिच्युट अफ मल्टि एजुकेशनल स्किल्स (टाइम्स) को आयोजनामा ९० घण्टे लोकसेवा तयारी कक्षाको उद्घाटनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । लामो समय सामाजिक सेवा र राजनीतिमा आबद्ध रहिरहेको अवस्थामा आफु चिठ्ठामा नगरप्रमुख भएको उहाँको भनाई थियो । नगरप्रमुखको जिम्मेवारीमा रहँदा समयमा सुत्ने र समयमै खाना खानसमेत नपाइने गरेको पनि उहाँले अनुभव सुनाउनुभयो । आफुलाई नगरप्रमुखमा जिताउन एमालेसँगै कांग्रेसहरुको महत्वपूर्ण भूमिका रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
यो मेयर के गरेर बस्छ, त्यो भन्दा पनि तल्लो स्तरको आफुलाई गाली गर्ने गरेको सुनिरहेको भएपनि नसुने झैं गरेर अघि बढिरहेको उहाँले बताउनुभयो । सफल बन्नका लागि कसले के भन्छ भनेर त्यसको पछि लाग्न नहुने उहाँको भनाई छ । गलत कुरालाई कहिलेपनि स्वीकार नगर्ने बताउँदै उहाँले कर्ममा विश्वास गरेर अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले सत्य विचार र असल कार्यका साथ अघि बढी सफलता हासिल गर्न सकिने बताउनुभयो । उहाँले कुनै कार्यमा सफलता प्राप्त गर्न दत्तचित्त भएर लाग्नु पर्ने बताउँदै मेहनत गरेर अघि बढ्न आग्रह गर्नुभयो ।























