उर्लाबारी । कोशी प्रदेशमा बसोबास गर्ने धिमाल समुदायको मौलिक पर्व जात्री पर्व शनिबारबाट सुरु भएको छ । वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् ।
नयाँ वर्षको आगमनसँगै सुरु हुने यो जात्री पर्व सुरु हुने गर्छ । नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व सुरु भएको हो । ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर पर्व सुरु भएको छ । मोरङको भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ ।
प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस् भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ ।
सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको धिमाल पत्रकार मञ्चका अध्यक्ष विजय धिमालले बताउँछन् । यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने उनले जानकारी दिए । यस पर्वले धिमाल जातिमा आपसी सम्बन्धमा प्रगाढ बनाउँदै बन्धुत्वको भावना विकास गराउने धिमाल युवा रोशन धिमालको भनाइ छ ।

असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका कोशी प्रदेशका ९८ वटै टोलमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँगाउँमा मेलाको आयोजना हुने गरेको छ । जात्रीमा धिमाल आफूले भाकल गरेअनुसार वस्तु चढाउने पनि गर्दछन् ।
धिमालले दुःख बिराम नहोस्, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकलअनुसारका वस्तु चढाउने गर्दछन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा ‘चिचिरी’, ‘बगिया’लगायतका परिकार खुवाउने पनि गरिन्छ ।
धिमाल वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् । मोरङको उर्लाबारी–३ मंगलबारेमा रहेको धिमाल जाति विकास केन्द्रको परियोजनास्थलमा दुई महिनापश्चात सांस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ । मेलामा ढोलको आवाज ढङ ढङ आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय