उर्लाबारी । उर्लाबारी नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयको गुणस्तर दिन प्रतिदिन खस्किँदै गइरहेको छ । सामुदायिक विद्यालयमा राज्यले ठूलो लगानी गरिरहेको भएपनि त्यो लगानी बालुवामा पानी हालेजस्तै भएको छ, भन्दा फरक नहोला । उर्लाबारीका केही विद्यालयबाहेक अधिकांश सामुदायिक विद्यालयको गुणस्तर मात्रै होइन भौतिक पूर्वाधार पनि अत्यन्तै खस्किएको छ ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार नभएकै कारण आर्थिक अवस्था कमजोर भएका परिवारले पनि बाध्य भएर आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन विवश छन् । सामुदायिक विद्यालयमा पढाउने शिक्षकका छोराछोरी निजी विद्यालयमा पढ्ने, जनप्रतिनिधिका छोराछोरी निजी विद्य्रालयमा पढ्ने, सरकारी कर्मचारीका छोराछोरी निजी विद्यालयमै पढिरहेका छन् । त्यति मात्र होइन, सामूदायिक विद्यालय सुधार गर्न समुदायले चयन गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र सदस्यका छोराछोरी पनि निजी विद्यालयमै पढ्ने गरेका छन् । यसले गर्दा सामुदायिक विद्यालयको गुणस्तर बढोत्तरी हुनुभन्दा निरन्तर खस्किँदै जाने निश्चित छ । सरकारी विद्यालयका शिक्षकहरूले आफ्ना नानीहरूलाई नीजि विद्यालयमा पढ्न पढाउनु भनेको आफूले दिने शिक्षा प्रति अविश्वास हो । त्यसैले उर्लाबारी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि सरकारी विद्यालयका शिक्षक, जनप्रतिनिधि, सरकारी कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने व्यवस्थाका लागि नगरप्रमुखसहित सम्पूर्ण जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराइएको छ ।
यसै शैक्षिक सत्रदेखि यो व्यवस्थाका लागि नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, सदस्य ज्यूहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिदिनुहुनका लागि सादर अनुरोध छ । साथै सामुदायिक विद्यालयका शिक्षकहरु नियमित विद्यालयमा हाजिर नहुने, बीचमै पढाउन छोडेर भोजभतेर वा व्यक्तिगत काममा जाने प्रवृत्ति देखिएको छ । त्यसैकारण उर्लाबारीका सबै सामुदायिक विद्यालयहरुमा सिसी क्यामेराबाट निगरानी गर्ने ब्यवस्था मिलाउन पनि जोडदार माग गरिएको छ ।























