उर्लाबारी । मोरङको उर्लाबारीमा नेकपा (माओवादी केन्द्र) छोड्नेको लर्को लागेको छ ।
नेकपा माओवादी केन्द्र उर्लाबारी नगर सदस्य दिपेन्द्र थापा र वाइसिएल नेपाल मोरङ पूर्व कोषाध्यक्ष समिर कुईकेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । यसअघि माओवादी नेता राजेन्द्र पौडेल, तोर्ण श्रेष्ठ, चेतराज श्रेष्ठ, मोहन खनाल, दिनेश सु्बेदी, राजन दाहाललगायतले पार्टी परित्याग गरेका थिए । थापा राधिका माध्यमिक विद्यालयको सञ्चालक समितिको सदस्य बन्न नपाएको कारण पार्टी छोडेको बताइएको छ भने कुईकेल नगर अधिवेशनबाट उपाध्यक्ष बन्ने होडमा रहेका थिए । तर, त्यसक्रममा उपाध्यक्ष बन्न नपाएपछि असन्तुष्ट रहेका कुईकेल गत स्थानीय तहको निर्वाचनमा उर्लाबारी वडा नं. ३ बाट सदस्यमा उम्मेद्वार बनेका थिए । निरन्तर पार्टीप्रति असन्तुष्ट कुईकेल पार्टी गतिबिधिमा भन्दा सामाजिक कार्यमा सक्रिय रहेका थिए । मोरङ क्षेत्र नं. १ मा मिक्लाजुङ बाहेक अन्यमा पार्टी निरन्तर कमजोर बन्दै गइरहेको छ । पार्टीको जिम्मेवारीमा रहेका अधिकांश नेताहरु सक्रिय नहुँदा कार्यकर्ताहरु विचलित बन्न थालेका छन् ।























