उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको छ । अध्यक्ष बबीकुमार राईले सोमबार गाउँपालिकाबाट पहिलोपटक श्रम स्वीकृति दिएर सेवा प्रारम्भ गर्नुभएको हो । श्रम स्वीकृति लिनेमा पहिलो सेवाग्राही मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का केशव सिग्देल बनेका छन् ।
सिग्देलले खुसी हुँदै भने– ‘यसअघि काठमाडौं र विराटगर गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब गाउँपालिकाबाटै सेवा सुरु भएपछि सहज भयो ।’ केन्द्र सरकारको निर्णयबमोजिम मिक्लाजुङले वैदेशिक रोजगारीका लागि विदेश जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा वैशाख २ गतेदेखि नै प्रारम्भ हुने २०७९ चैत २९ गते सूचना प्रकाशन गरेको थियो ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन भन्दै २०८० वैशाख २ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गराउने गत चैत १६ गतेको नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री) स्तरीयनिर्णय भएको थियो । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने व्यवस्था छ ।























