उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रालाई कुटपिट गर्ने १३ जनालाई ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला अदालत मोरङबाट १३ जना किशोरीहरुलाई ५ दिनको म्याद थप गरी घटनाका बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा रहेका १३ जना किशोरी नै १६ बर्षभन्दा मुनीमा रहेका छन् । कालिका माबि कक्षा ८ मा अध्ययनरत १४ बर्षीया किशोरीलाई गत बैशाख ६ गते बुधबार १३ जनाको समूहमा रहेका विद्यार्थीहरुले निर्घात कुटपिट गरी खुट्टा ढोग्न लगाएको बैशाख ९ गते शनिबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको थियो । प्रेमीसँग बोलेको निहुँमा सामुहिक कुटपिट भएको बताइएको छ ।
सो घटनाको बारेमा कसैलाई सुनाए ज्यान लिने समेतको धम्की दिएकाले आफुले घटनाकोे बारेमा डराएर कसैलाई नसुनाएको पीडित किशोरीले जानकारी दिएकी छिन् । ती किशोरी घरमा एक्लै बस्दै आएकी थिइन् । बैशाख ११ गते आइतबार विद्यालयमै छलफल गरेर समस्या समाधान गर्ने पहल भएपनि बिथोलिएको थियो । त्यसपछि पीडित परिवारले १३ जना विरुद्ध जाहेरी दिएपछि बैशाख ११ गते एक जना र बैशाख १२ गते १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विद्यालयमा छलफलको क्रममा पीडित परिवारले आक्रोशित भएपछि सो दिनभर कालिका माध्यमिक विद्यालय परिसर तनाबग्रस्त बनेको थियो । पीडितका आफन्तसहित विद्यालयमा विद्यालय प्रशासन, राजनीतिक दलका प्रतिनिधि, संघ संस्था प्रतिनिधिहरु बीच छलफल भएको थियो । छलफलकै क्रममा तनाब सिर्जना भएपछि प्रहरीको सहयोगमा पीडक एक किशोरीलाई नियन्त्रणमा लिएको थियो भने अन्य १२ जनालाई सोमबार पक्राउ गरेको थियो । पीडित पक्षले विद्यालयका डेक्स बेन्च तोडफोड गर्नुको साथै विद्यालयको गेटमा तालाबन्दी गरेका थिए । मंगलबार बसेको पीडित परिवार, सर्वदलीय राजनीति दलका प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी, विद्यालय प्रशासनलगायतको उपस्थितिमा भएको छलफलबाट विद्यालयमा भएको तालाबन्दी खोल्ने सहमति भएको छ । सहमति अनुसार पीडित किशोरीको उपचार पीडक पक्षका अभिभावकहरुले व्यहोर्ने र त्यसका लागि आवश्यक समन्वय विद्यालय प्रशासनले गर्नेछ । पीडिक पक्षहरुलाई शिक्षा ऐन र नियमावलीले दिएको प्रावधान अनुसार कार्वाही गर्ने सहमति भएको बुझिएको छ ।
यसैबीच नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मोरङको मिक्लाजुङ–३ स्थित कालिका माध्यमिक विद्यालयमा घटेको घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ ।
अखिल (क्रान्तिकारी) मोरङ जिल्ला कमिटी संयोजक नगेन्द्र घिमिरेले कालिका माबि कक्षा ८ मा अध्ययनरत किशोरीमाथी भएको सामुहिक कुटपिटको घटनाप्रति भत्र्सना जनाउँदै निष्पक्ष छानविन गरी दोषीलाई कानुन बमोजिम कार्वाही गर्न माग गरेको हो । अखिल (क्रान्तिकारी) ले विद्यालय हाताभित्रै कुटपिटको घटना हुनु दुखद भएको भन्दै विद्यालय प्रशासनको गम्भिर ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘घटनाको ढाकछोप र राजनीति नगरी दोषीलाई कार्वाही तथा पीडित किशोरीको न्यायको पक्षमा लाग्न सबै पक्षलाई आब्हान गर्दछौं ।’
यस्तै, नेकपा एमाले मिक्लाजुङले पनि घटनाका दोषीलाई कार्वाही गर्न माग गरेको छ । गाउँपालिका अध्यक्ष बुद्धिमान लिम्बू र सचिब नगिन्द्र कार्की (नविन) ले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानविन गरी कानुन बमोजिम कार्वाही गर्न माग गरेको हो । विद्यालय प्रशासनको पनि गम्भिर कमजोरी भएको एमाले मिक्लाजुङले ठहर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय