उर्लाबारी । मोरङको उर्लाबारी–८ दुर्गापुरी बजारका सुन ब्यवसायी तेजप्रकाश श्रेष्ठ रहस्यमय तरिकाले ‘गायब’ भएका छन् ।
दुर्गापुरी बजारमा कृष्णा गहना पसल सञ्चालन गर्दै आएका श्रेष्ठ रहस्यमय तरिकाले गायब बनेका हुन् । श्रेष्ठसँग ७० प्रतिशत हुलिया मिल्ने एक ब्यक्ति अचेत अवस्थामा झापाको दमकस्थित चिया बगानमा भेटिएपछि घटना रहस्यमय बनेको छ । हुलिया मिल्ने ब्यक्तिले श्रेष्ठले लगाएका सम्पूर्ण कपडा लगाएर अचेत अवस्थामा भेटिएका थिए । श्रेष्ठको भित्री वस्त्रसमेत ती ब्यक्तिले प्रयोग गरेको पाइएको छ । बैशाख ४ गते अचेत अवस्थामा भेटिएका धिकु भनिने धिरज धिक तामाङ रहेका छन् । धादिङको चोमजोङ–५ घर भएका ४४ बर्षीय तामाङ झापाको दमकमा पासवान होटलमा काम गर्ने गरेको र घटना हुनु एक दिनअघि मात्र सो होटलबाट उनलाई निकालेको स्रोतले जानकारी दिएको छ । केही समयअघि दमककै निजी विद्यालयहरुमा पढाउँदै आएका तामाङ अत्याधिक मदिरा सेवन गर्ने गरेका कारण विद्यालयले निकालेको थियो ।

तामाङकी श्रीमति बैदेशिक रोजगारमा रहेको र सम्बन्ध राम्रो नभएको बताइएको छ । अचेत अवस्थामा भेटिएका तामाङको झापाको विर्तामोडस्थित बिएण्ड सी हस्पिटलमा उपचार भइरहेको छ । अचेत भेटिएका तामाङको चेत खुलिसकेको भएपनि घटनाका बारेमा ठोस कुरा नबताएको प्रहरी स्रोत जनाएको छ । बैशाख ४ गते बेपत्ता भएका श्रेष्ठ र तामाङ इलामको फिक्कल पुगेको देखिएको छ । त्यसपछि फर्किदा श्रेष्ठको लुगा तामाङले प्रयोग गरेको देखिन्छ । सबै लुगा श्रेष्ठको तामाङले लगाएको पाइएको प्रहरीले जनाएको छ । उनीहरुको हुलिया पनि धेरै मिल्ने गरेको पाइएको छ । सो दिनको राती तामाङ अचेत अवस्थामा झापाको दमकमा भेटिनु र श्रेष्ठ बेपत्ता हुनुमा भित्री रहस्य रहेको बुझिएको छ । अचेत भेटिएका तामाङको साथबाट श्रेष्ठको मोटरसाइकल, चेक, पर्स, मोबाइलसमेत भेटिएको छ । स्रोतले दिएको जानकारी अनुसार तामाङ मोटरसाइकल कुदाउन समेत जान्ने थिएनन् । श्रेष्ठले उक्त घटना घटाएर बिमाको रकम हत्याउन खोजेको हुन सक्ने प्रहरीको आशंका छ । श्रेष्ठले फेक आइडी बनाएर श्रेष्ठ र तामाङ अपहरणमा परेको साथै श्रेष्ठको हत्या गरेर सप्तकोशीमा फालेको भन्दै कमेन्ट गरेको पत्ता लगाएको स्रोत जनाएको छ । श्रेष्ठले घटना घटाएर नाटक मञ्चन गरिरहेको र उनी नेपालभित्रै रहेको प्रहरीले तथ्य पत्ता लगाइसकेको छ । प्रहरीले यसबारेमा अनुसन्धान गम्भिर रुपमा भइरहेको र थप चाँडै बाहिरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय