उर्लाबारी । मोरङको उर्लाबारीको गौरबको योजना मानिएको बक्राहा घाट निर्माण हुनु अगाबै विवादमा परेको छ ।
बक्राहा घाटको नाम परिवर्तन गर्दै बक्राहा विष्णु गंगाघाट राखेपछि विवाद उत्पन्न भएको हो । तीब्र विवाद उठेको उक्त विषय सम्बोधन नगरी शिलान्यास गर्न लागिएको छ । बैशाख २० गते विहान ७ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको छ । उर्लाबारी नगरपालिकाका तत्कालिन नगरप्रमुख खड्ग फागोले डिपिआरसहित जग्गासमेत खोजेर उर्लाबारी बक्राहा घाट निर्माण गर्ने प्रयास थालेका थिए । तर, त्यसले सार्थकता नपाउँदै फागो दोस्रो कार्यकालमा नगरप्रमुखमा पराजित बने । त्यसपछि निर्वाचित नगरप्रमुख गंगाप्रसाद खरेलले निरन्तरता दिँदै १ करोड रुपैयाँ बजेट विनियोजन गरे । सो बजेटमार्फत घाट निर्माणको काम सञ्चालनका लागि उर्लाबारीका सामाजिक व्यक्तित्व महेन्द्रजंग तामाङको अध्यक्षतामा बक्राहा विष्णु गंगाघाट नेपाल संस्था नै खडा गरेर गतिबिधि अघि बढाइएपछि नामाकरणको विषयमा विरोध भएको थियो । नेपाली कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ताहरुले उर्लाबारी बक्राहा घाट नामाकरण गर्नु पर्नेमा जोड दिएका छन् ।























