उर्लाबारी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानको नाममा हिंसात्मक आन्दोलन गर्ने कसैलाई छुट नभएको बताउनुभयो ।

मोरङको उर्लाबारीमा आज मदन भण्डारी स्मृति प्रतिष्ठानको साधारणसभामा बोल्दै उहाँले शान्तिपूर्ण आन्दोलनमा आफ्नो समर्थन रहेको बताउँदै हिंसात्मक आन्दोलन गर्ने कसैलाई छुट नभएको बताउनुभएको हो । लामो समय नामविहीन प्रदेशमा आफू मुख्मन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी प्रदेश नामाकरण भएको उहाँले उल्लेख गर्नुभयो । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपासहितका अधिकांश दलको समर्थनमा प्रदेशको नामाकरण गरिएको भएपनि एमालेप्रति मात्रै निरन्तर प्रहार र आक्रमणका घटना भएको भन्दै आक्रोश पोख्नुभयो । बहुपहिचानका आधारमा प्रदेशको नाम कोशी राखेको बताउँदै उहाँले नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न आग्रह गर्नुभयो । पार्टीको कार्यक्रमको सिलसिलामा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र आफुलाई आक्रमणको प्रयास भएको भन्दै उहाँले आपत्ती जनाउनुभयो । उहाँले आफुलाई कार्यक्रममा गएको बेला अवरोध सिर्जना गर्ने काम भइरहेको बताउँदै शान्तिपूर्ण आन्दोलन गर्न पहिचानवादीहरुलाई आग्रह गर्नुभयो ।

दलहरुको सहमतिको प्रदेशको नामाकरण गरिएको बताउँदै कोशी प्रदेशलाई समृद्ध बनाउन सबैको भूमिका आवश्यक रहेको उहाँको भनाई छ । ५ बर्ष बेनामे रहेको प्रदेशले नाम पाएकोमा खुशी प्रकट गर्दै मुख्यमन्त्री कार्कीले कसैको विपक्षमा कोशी प्रदेश नाम नराखेको दाबी गर्नुभयो । ‘नाम भइसक्यो, अब प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने बारेमा सुझाव दिनुहोस्’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय