उर्लाबारी । उर्लाबारी–६ का सुन व्यवसायी राजेश भनिने गोपाल गौतम १२ करोड ठगेर फरार भए । अहिलेपनि गौतमको मुद्धा चलिरहेको छ । गौतम भने फरार नै छन् । त्यस्तै, उर्लाबारी–७ स्थित लक्ष्मी हार्डवयेरका सञ्चालक विनोद ओली पनि भागेको १ बर्ष हुन लाग्यो । अतोपत्तो छैन । उनले पनि करोडौं ठगेर भागे ।
यस्तै, उर्लाबारीकै अर्का सुन व्यवसायी तेजप्रकाश श्रेष्ठ(तेजु) रहस्यमय तरिकाले गायब भएका छन् । उनी गायब भएपनि ठगीमा परेको भनेर कोही पीडित खुलेका छैनन् । उनको पनि अतोपत्तो छैन । उर्लाबारीकै अर्का सुन ब्यवसायी तुलसी भनिने तिलप्रसाद श्रेष्ठ ४ करोड बढी ठगेर परिवारसहित भागेको खुलेको छ । अन्य केही पनि ठगेर गुमनाम बनेपनि पीडितहरुले खुलेर बोलेका छैनन् ।
आकर्षक ब्याज दिने भन्दै जम्मा गरेको करोडौं रूपैयाँ लिएर उर्लाबारी नगरपालिका–६ डिबि मार्गमा रहेको गौतम सुनचाँदी पसलका संचालक गौतमले उर्लाबारीका तीन सय जना बढी सर्वसाधरणले ब्याजमा लगाएको १२ करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार भए । त्यस्तै, उर्लाबारी–७ का हार्डवयेर ब्यवसायी विनोद ओली करोडौं रकम ठगेर भागेका छन् । ओलीले ग्राहक र स्थानीयको करोडौ रकम ठगेर भागेपछि पीडितहरुले खोजीका लागि हारगुहार गरिरहेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकामा ओली ठगेर भागेको भन्दै उजुरीको चाङ छ ।
उर्लाबारी–७ बरगाछीमा लक्ष्मी हार्डवयेर पसल सञ्चालन गर्दै आएका ओली फरार भएको एक बर्ष पुग्न लाग्यो । सिमेन्ट, रड उपलब्ध गराउने सर्तमा ग्राहकबाट अग्रिम भुक्तानी लिने, स्थानीयबासी, बैंक तथा वित्तीय संस्थाको गरी करोडौ ठगेर भागेका ओलीको अत्तोपत्तो छैन । ओलीबाट ३५ जना बढी पीडित रहेको बुझिएको छ । कसको कति रकम भन्ने विषयमा यकिन नभएपनि ५ करोडभन्दा बढी रकम ओलीले तिर्नु पर्ने देखिएको जानकार स्रोत बताउँछन् । भएभरको सम्पत्ति बेच्दा पनि ऋण चुक्ता हुने स्थिति नभएको कारण ओली भागेको हुन सक्ने सहकर्मीहरु बताउँछन् । कहाँ भागेका हुन् भन्ने बिषयमा भने कसैलाई थाहा नभएको बुझिएको छ ।
ओली उर्लाबारी जेसीजको पूर्वअध्यक्ष हुन् । लामो समयदेखि उर्लाबारी–७ मा हार्डवयेर ब्यवसाय गर्दै आएका ओली ऋणको ब्याजको ब्याज बढेको कारण भागेको हुन सक्ने सहकर्मीले बताएका छन् ।
त्यस्तै, उर्लाबारी–८ दुर्गापुरी बजारका सुन ब्यवसायी तेजप्रकाश श्रेष्ठ रहस्यमय तरिकाले ‘गायब’ भएका छन् । दुर्गापुरी बजारमा कृष्णा गहना पसल सञ्चालन गर्दै आएका श्रेष्ठ रहस्यमय तरिकाले गायब बनेका हुन् । श्रेष्ठसँग ७० प्रतिशत हुलिया मिल्ने एक ब्यक्ति अचेत अवस्थामा झापाको दमकस्थित चिया बगानमा भेटिएपछि घटना रहस्यमय बनेको छ । हुलिया मिल्ने ब्यक्तिले श्रेष्ठले लगाएका सम्पूर्ण कपडा लगाएर अचेत अवस्थामा भेटिएका थिए । श्रेष्ठको भित्री वस्त्रसमेत ती ब्यक्तिले प्रयोग गरेको पाइएको छ । बैशाख ४ गते अचेत अवस्थामा भेटिएका धिकु भनिने धिरज धिक तामाङ रहेका छन् । धादिङको चोमजोङ–५ घर भएका ४४ बर्षीय तामाङ झापाको दमकमा पासवान होटलमा काम गर्ने गरेको र घटना हुनु एक दिनअघि मात्र सो होटलबाट उनलाई निकालेको स्रोतले जानकारी दिएको छ । केही समयअघि दमककै निजी विद्यालयहरुमा पढाउँदै आएका तामाङ अत्याधिक मदिरा सेवन गर्ने गरेका कारण विद्यालयले निकालेको थियो ।
तामाङकी श्रीमति बैदेशिक रोजगारमा रहेको र सम्बन्ध राम्रो नभएको बताइएको छ । अचेत अवस्थामा भेटिएका तामाङको झापाको विर्तामोडस्थित बिएण्ड सी हस्पिटलमा उपचार भइरहेको छ । अचेत भेटिएका तामाङको चेत खुलिसकेको भएपनि घटनाका बारेमा ठोस कुरा नबताएको प्रहरी स्रोत जनाएको छ । बैशाख ४ गते बेपत्ता भएका श्रेष्ठ र तामाङ इलामको फिक्कल पुगेको देखिएको छ । त्यसपछि फर्किदा श्रेष्ठको लुगा तामाङले प्रयोग गरेको देखिन्छ । सबै लुगा श्रेष्ठको तामाङले लगाएको पाइएको प्रहरीले जनाएको छ । उनीहरुको हुलिया पनि धेरै मिल्ने गरेको पाइएको छ । सो दिनको राती तामाङ अचेत अवस्थामा झापाको दमकमा भेटिनु र श्रेष्ठ बेपत्ता हुनुमा भित्री रहस्य रहेको बुझिएको छ । अचेत भेटिएका तामाङको साथबाट श्रेष्ठको मोटरसाइकल, चेक, पर्स, मोबाइलसमेत भेटिएको छ । स्रोतले दिएको जानकारी अनुसार तामाङ मोटरसाइकल कुदाउन समेत जान्ने थिएनन् । श्रेष्ठले उक्त घटना घटाएर बिमाको रकम हत्याउन खोजेको हुन सक्ने प्रहरीको आशंका छ । श्रेष्ठले फेक आइडी बनाएर श्रेष्ठ र तामाङ अपहरणमा परेको साथै श्रेष्ठको हत्या गरेर सप्तकोशीमा फालेको भन्दै कमेन्ट गरेको पत्ता लगाएको स्रोत जनाएको छ । श्रेष्ठले घटना घटाएर नाटक मञ्चन गरिरहेको र उनी नेपालभित्रै रहेको प्रहरीले तथ्य पत्ता लगाइसकेको छ । प्रहरीले यसबारेमा अनुसन्धान गम्भिर रुपमा भइरहेको र थप चाँडै बाहिरिने जनाएको छ ।
यस्तै, उर्लाबारी वडा नं. ८ र ९ का १ सय ५० भन्दा बढीलाई ठगेर सुन व्यवसायी तुलसी भनिने तिलप्रसाद श्रेष्ठ फरार भएपछि पीडितहरुले हारगुहार मागेका छन् ।उर्लाबारी–८ र ९ को संयुक्त कार्यालयमा भेला भएका सयौं पीडितहरुले फरार श्रेष्ठको खोजी कार्यका लागि वडा कार्यालय, प्रहरी प्रशासन र मिडियालाई गुहार मागेका हुन् । करोडौं रुपैयाँ ठगेर श्रेष्ठ परिवारसहित फरार भएपछि पीडितहरु समस्यामा परेका छन् ।
मृगौला पीडित, विद्यार्थीदेखि बुद्धा भत्ताको रकमसमेत लिएर ब्यवसायी श्रेष्ठ टाप कसेका छन् । उर्लाबारी वडा नं. ८ स्थित एस।टी। मनि ट्रान्सफर एण्ड ज्वेलरी सञ्चालन गर्दै आएका श्रेष्ठले विदेशबाट आएको रकम, जग्गा धितो, ब्याजमा राखिएको रकमलगायत सबै कुम्ल्याएर हिँडेपछि समस्यामा परेको पीडितहरुले बताएका छन् ।
दुई सातादेखि सम्पर्क विहीन बनेका ब्यवसायी श्रेष्ठले सयौंलाई पीडित बनाएर फरार भएपछि खोजीसँगै पीडितहरुलाई न्याय दिन पहल सुरु गरेको उर्लाबारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले बताउनुभयो । उर्लाबारी—८ मा एभरेष्ट फन पार्कका अध्यक्ष समेत रहेका श्रेष्ठले १ सय ५० जनासँग तीन करोड बढी उठाइएर सम्पर्क विहीन भएको प्रारम्भिक तथ्यांकले देखाएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । थप पीडितको संख्या बढ्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय