उर्लाबारी । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टचार र नक्कली भुटानी शरणार्थी काण्डका दोषीहरुमाथि कडा कार्वाही गर्न माग गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) उर्लाबारीले शुक्रबार पत्रकार सम्मेलन गरी भ्रष्टचार र नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न सबै दोषीहरु उपर निर्मम भएर छानविन गरी कडा कार्वाही गर्न माग गरेको हो ।
नेकपा एसकी केन्द्रिय सदस्य एवम् कोशी प्रदेश सांसद विद्या चाम्लिङ्गले आर्थिक मन्दिले देश डुब्न लागेको अवस्थामा भ्रष्टचारका ठुला काण्डहरु आउनु दुःखद रहेको बताउनुभयो । उहाँले शरणार्थी काण्डमा संलग्न सबैलाई कार्वाही गर्न माग गर्नुभयो । उहाँले दोषीहरुलाई कुनै पनि दलले संरक्षण गर्न नहुने धारणा राख्दै प्रदेशको आगामी संसद बैठकमा भ्रष्टचारीविरुद्ध कडा कार्वाहीको माग राख्ने बताउनुभयो ।
नगर कमिटीले विज्ञप्ती जारी गर्दै आफ्ना नागरिकलाई शरणार्थी बनाई विदेश पठाउने जस्तो राज्य विरुद्धको जघन्य अपराध गर्नेहरुलाई बचाउन केहि व्यक्ति तथा नेताहरु खुलेआम क्रियाशिल भएको घटनाले ती व्यक्ति तथा नेताहरुको अभिष्ट छर्लङ्ग भैसकेको जनाउँदै यस्तो गलत गतिविधी नगर्न त्यस्ता व्यक्ति तथा दलहरुलाई नेकपा (एस) चेतावनी दिन चाहेको उल्लेख छ । यस्तै उक्त विज्ञप्तीमा नक्कली भुटानी शरणार्थी प्रकरण एउटा व्यक्ति वा समूहमात्र जोडिएको अपराध नभई राज्य संयन्त्रकै मिलेमतोमा भएको अपराध भएकोले अपराधीलाई कुनै पनि बहानामा जोगाउने वा सजाय न्युन गराउने काम काहि कतैबाट गरे वा गराएमा यसको कडा प्रतिबाद गर्ने विज्ञप्तिमा भनिएको छ । नगर कमिटी अध्यक्ष ढकबहादुर थापा (डिबी) ले भ्रष्टचार र नक्कली भुटानी शरणार्थी काण्डका दोषीहरुलाई हदैसम्मको कार्वाही गर्न माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय