दिलिप पोखरेल/ उर्लाबारी
उर्लाबारी-३ मंगलबारेस्थित तेली खोलामा सोमबार मंगलबारेबासी एकजुट भएर तटबन्ध निर्माणमा श्रमदान गरेका छन् ।
तेली खोलामा आउने बाढीका कारण बस्ती पाकिस्तानी टोल र सिमलडाँडा क्षेत्र निकै जोखिममा परेको छ । सोमबार विहान मंगलबारेबासीसहित सुरक्षा निकाय, वडाका जनप्रतिनिधी सहित प्राविधिक तथा कर्मचारी ,प्रधानमन्त्री स्वरोजगारमा आबद्ध श्रमिकहरु, स्थानिय युवा, व्यवसायीको सामूहिक प्रयासमा खोलामा तारजाली बनाएर तटबन्ध गरिएको हो ।
वडाध्यक्ष भिष्म बुढाथोकीले तटबन्ध बनाउनका लागि आईतबार वडा कार्यालयमार्फत श्रमदानका लागि अपिल गरेका थिए । श्रमदान गर्न उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल र उपमेयर मिना खतिवडा पौडेल समेत सहभागी भएका थिए ।
वडाध्यक्ष बुढाथोकीले निरन्तर वडाबासीको संयुक्त पहलमा दैनिक रुपमा सामाजिक कार्यहरुमा लाग्न प्रेरित गर्ने बताए । उनले मंगलबार समेत श्रमदानमा तटबन्ध निर्माण गरिने भएकाले सम्पूर्णमा विहान ७ बजेदेखी सहभागिताको लागी अनुरोध गरेका छन् ।
तेली खोलामा गत वर्ष आएको बाढीका कारण स्थानिय पिंङमाया तामाङ्गको घर बगाएको थियो । स्थानीको सहयोगमा उनलाई मंगलबारे खानेपानी संस्थामा बसोबासको व्यवस्था मिलाइएको थियो । त्‍यसबेला बुढाथोकीले पिङमायालाई राहत वितरण तथा उद्धारमा समेत सघाउ पुर्‍याएका थिए । उनी अहिले एक स्थानियको घरमा कोठा भाडामा लिई बस्दै आएकी छन् ।
उर्लाबारीमा वर्षेनि उर्लने बक्राह, सोल्टी, मावा खोलाले हरेक वर्ष खेतीयोग्य जमिन बगाउनुका साथै आसपासका गाउँ डुबानमा पर्दै आएका छन् ।

मंगलबारे पेजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय