उर्लाबारी । सम्झौता अनुसारको ब्याजदर कायम गर्न उर्लाबारीमा क्रियाशिल राजनीतिक दलहरुले माग गरेका छन् । आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै यहाँका राजनीतिक दलहरुले उर्लाबारीमा संचालित बैँक तथा वित्तिय संस्थाहरुलाई चालु ब्याजदरमा संशोधन गरी सम्झौता अनुसारको ब्याजदर कायम गर्न तथा हालसम्म सम्झौता भन्दा बढी लिएको ब्याज रकम सम्बन्धित ऋणीलाई नै फिर्ता गराउन माग गरेका हुन् ।
पछिल्लो समय आर्थिक मन्दीसँगै नगर क्षेत्र भित्रका व्यवसायीहरु प्रताडित हुनु भएको भन्दै दलहरुले आफुहरुको अपिललाई वेवास्ता गरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । बैँक तथा वित्तिय संस्थाले सहमति भन्दा दोब्बर अंकले ब्याजदर बृद्धि गराएर व्यवसायीलाई सावा र ब्याज भुक्तान गराउन निर्मम र चर्को दबाब दिएको भन्दै दलहरुले खेद समेत ब्यक्त गरेका छन् ।
बैँकहरुका वार्षिक मुनाफा भने विगतका वर्षभन्दा बृद्धि भईरहेको तर ऋणी व्यवसायी भने पलायन हुनुपर्ने अवस्था आएकाले आफुहरुको मागलाई ध्यान नदिएर अगाडी बढेमा आउने परिणामको जिम्मेवारी बैँक तथा वित्तिय संस्था नै हुनुपर्ने दलहरुको चेतावनी छ । नेपाली काँग्रेसका नगर कार्यवाहक सभापति राजनकुमार रायमाझी, नेकपा एमालेका नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोला, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल,राप्रपाकी नगर अध्यक्ष निरुपा खड्का, जसपाका नगर अध्यक्ष मात्रिका धिमाल, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष डिबी थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष उमेशजंग थापाले हस्ताक्षर गरेर सामुहिक बिज्ञप्ती जारी गर्नुभएको हो ।























