
टिका सिम्खडा
उर्लाबारी । मोरङको उर्लाबारी–८ मा सम्पन्न प्रथम सिसौली नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि चुलाचुली फुटबल क्लब दमकले जितेको छ ।
आज भएको फाइनल खेलमा सिरिजंघा फुटबल क्लब पथरीलाई १–० गोल अन्तरले पराजित गर्दै चुलाचुलीले उपाधि जितेको हो । सिसौली फुटबल क्लब उर्लाबारी–८ को आयोजनामा भएको उक्त प्रतियोगिताको उपाधिसँगै चुलाचुलीले ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पा¥यो भने सिरिजंघाले ३१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । पहिलो हाफमा निकै प्रतिष्पर्धात्मक खेल भएको थियो भने दोस्रो हाफको सुरुवातमै कर्सिम राईले गोल गर्दै चुलाचुलीलाई अग्रता दिलाए । त्यसपछि कुनै गोल हुन सकेन । निर्णायक गोलकर्ता राई नै खेलको म्यान अफ दी म्याच भए । सर्वाधिक गोलकर्ता सिरिजंघाका प्रताव लिम्बू, उत्कृष्ट मिडफिल्डर चुलाचुलीका पारस कार्की, उत्कृष्ट गोलकिपर कृष्ण क्षेत्री, उत्कृष्ट डिफेन्डर सिरिजंघाका सुमन राई, फरवार्ड चुलाचुलीकै सुमन धिमाल, सर्वोत्कृष्ट खेलाडी सिरिजंघाका मान्दिप लिम्बू घोषित भए । समापन कार्यक्रमको प्रमुख अतिथि मोरङ क्षेत्र नं. १ का प्रदेशसभा सदस्य उमाकान्त गौतम रहनुभएको थियो भने बिशिष्ट अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य दिपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकी, उर्लाबारी–४ का वडाध्यक्ष कल्याण राई, वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीलगायतको सहभागिता रहेको थियो । सञ्चारकर्मी घनश्याम भण्डारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व खैरेनी सेवा समितिका अध्यक्ष अग्नी सुब्बाले गर्नुभएको थियो । उर्लाबारी–८ सिसौलीमा खेलमैदानको विकास र नयाँ खेलाडी उत्पादनका लागि देशविदेशबाट सहयोग संकलन गरी सो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।