उर्लाबारी, नगरको समग्र विकासमा योगदान पुग्ने गरीको बजेट निर्माणमा सहयोग गर्न उर्लाबारी नगरपालिकाले प्रदेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ । मंगलबार नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी प्रदेश सांसदहरुसंग सुझाव लिइएको हो । मोरङ क्षेत्र नम्बर १ ‘क’ बाट कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु उमाकान्त गौतम, शोभा चेम्जोङ पालुङ्वा र विद्या चाम्लिङ सम्मिलत कार्यक्रममा प्रदेशसभाको आगामी नीति तथा कार्यक्रममा नगरका कुन कुन योजनालाई कसरी समेट्ने भन्ने विषयमा आवश्यक सल्लाह, सुझाव, सहयोग र निर्देशन लिन छलफल गरिएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताउनुभयो । समग्र उर्लाबारीको प्राथमिकताका विषय, नगरबासीको चाहना र भावना बुझ्दै बजेटमा सम्बोधनका लागि पहल गर्न सांसदहरुसंग रायसुझाव पेश गरिएको नगर प्रमुख खरेलको भनाई छ । ‘मुख्यगरी रोजगारी सिर्जना गर्ने खालका विषय छन् । आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य लिइएको छ’ नगर प्रमुख खरेलले भन्नुभयो – ‘यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा राय सुझाव दिएका छौँ ।’
कार्यक्रममा स्वच्छ, समृद्ध र समातामुलक उर्लाबारी निर्माणमा योगदान पुग्ने किसिमको बजेट निर्माणमा आफुहरु दत्तचित्त गरी लाग्ने भन्दै सांसदहरुले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वडाध्यक्षहरु चिन्तामणि पौडेल, उर्मिला थापा, कल्याण राई, कुलबहादुर कार्की नरबहादुर मोक्तान, योजना, प्रशासन तथा अनुगमन शाखा प्रमुख मुरारी घिमिरेलगायतको सहभागिता रहेको थियो ।























