दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । मोरङको उर्लाबारीमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा ११ बर्ष वितिसक्दा पनि सार्वजनिक शौचालय निर्माण हुन सकेको छैन ।
उर्लाबारी चौकमा रहेको अस्थायी सार्वजनिक शौचालयबाहेक अन्य स्थानहरुमा शौचालय निर्माण हुन नसकेको हो । तत्कालिन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारी चौकमा ब्यवस्थित शौचालय निर्माण गर्ने जमर्को गरेपनि विवाद सिर्जना भएपछि रोकिएको थियो । त्यसपछि सार्वजनिक शौचालय बनाउने विषयमा बेलाबेलामा चर्चा चल्ने गरेको भएपनि सार्थकता पाउन सकेको छैन ।
२०६८ चैत्र २५ गते उर्लाबारी नगरपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको थियो । नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक शौचालय रहेको भएपनि शुक्रबारबाहेक अन्य समयमा प्रयोगमा आउँदैन । मानिसहरुको बढी जमघट हुने स्थानहरुमा सार्वजनिक शौचालयको आवश्यक रहेको देखिन्छ । २०६८ सालमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्दा तत्कालिन समयमा १० स्थानमा सार्वजनिक शौचालय बनाउने योजना अघि सारिएको भएपनि अहिलेसम्म त्यसले कुनै मुर्त रुप पाएको छैन । उर्लाबारीमा सार्वजनिक शौचालयको अति आवश्यक रहेको छ । नगरको मुख्य चौक बजार तथा नागरिकको भिडभाड बढी हुने स्थलहरुमा समेत सार्वजनिक शौचालय नहुँदा नगरबासी तथा यात्रुहरुले सास्ती खेप्नु परेको छ । नगर बिकास र समृद्धि साथै सफा राख्नलाई लगाउने नारालाई पुरक बनाउने आवश्यक विषयहरु मध्येको एउटा बिषय सार्वजनिक शौचालय पनि हो ।
बाहिरबाट आवत जावत गर्ने मानिसहरुले समेत सार्वजनिक शौचालय अभावका कारण धेरै शास्ती खेप्नुपरेको बाध्यताले खाजाघर , होटलका शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको स्थानीय हरि भट्टराई बताउनुहुन्छ ।
नगरका ९ वटा वडामा कम्तीमा पनि एउटा एउटा सार्वजनिक शौचालय हुनुपर्ने हो । तर, विडम्बना मुख्य चौकमै जम्मा एउटा मात्र शौचालय रहेको छ । बढ्दो बजारीकरणका कारणले एउटा मात्र शौचालय प्रयाप्त नभएको र नगरको प्रतिनिधित्व ध्यान दिनु पर्ने स्थानीयको भनाई छ ।























