विराटनगर । कोशी प्रदेश सरकारलेप्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ । मंगलबार कोशी प्रदेश सरकारले प्रेस विज्ञप्ति सार्वजनीक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको लागि आव्हान गरेको हो । कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार वक्तव्य जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् ।
‘शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्छ’ मन्त्री सिटौलाले भनेका छन्, ‘नामाङ्कनको बारेमा आफ्ना विमतिहरुलाई शान्ति पूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र सम्वादका माध्यमबाट निकास खोज्न सम्बद्ध सबै पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।’
आइतबारको प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले आन्दोलनरत पक्षलाई तत्काल वार्तामा बोलाउन सरकारलाई आग्रह गरेको थियो । सोमबार गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए ।
गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । नाम संशोधनका लागि प्रदेश १ पुनस् नामाङ्कन संयुक्त संघर्ष समिति मार्फत पहिचान पक्षधरले प्रदेश राजधानीकेन्द्रित आन्दोलन गरिरहेको छ । विराटनगर लगायत विभिन्न जिल्लाहरुमा झडप समेत भएका छन ।
https://www.youtube.com/watch?v=QZyrBE7_n4M























