उर्लाबारी । मोरङ उर्लाबारीस्थित पूर्वी कमाण्ड अनलाइनका समाचार प्रमुख पुजन दासमाथि सांघातिक आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएपनि अझैसम्म पक्राउ परेका छैनन् ।
रतुवामाई–१० का राजिव कार्की, राजेश कार्की, शिव कार्कीलगायत विरुद्ध ज्यान मार्ने उद्योगमा इलाका प्रहरी कार्यालय सिजुवामा जाहेरी दर्ता गरिएको थियो । कार्की मोटरसाइकल वर्कसपका सञ्चालकसमेत रहेका राजिव कार्कीको नेतृत्वमा आफुमाथी ज्यान मार्ने उद्देश्यले आक्रमण भएको पीडित पत्रकार दासले बताएका छन् । समाचार संकलन गरेर फर्किने क्रममा कृष्ण मोटरसाइकल वर्कसपमा मोटरसाइकल मर्मत गरिरहेको अवस्थामा आफुमाथि ५÷६ जनाको समूहले अन्धाधुन्ध आक्रमण गरेको उनको भनाई छ । पत्रकार दासको आँखा र अनुहारमा चोट लागेको छ । आफूलाई बिना कारण आक्रमण गरिएको दासले बताएका छन् ।
घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाही गर्न प्रेस संगठन मोरङ, पूर्वी मोरङ शाखा, सञ्चार क्लब नेपाल, नेकपा माओवादी केन्द्र रतुवामाई, अखिल क्रान्तिकारी मोरङ, नेपाल पत्रकार महासंघ मोरङले माग गरेको छ । उनीहरुले समाचार लेख्ने, संकलन गर्ने र प्रकाशन तथा प्रसारण गर्ने संवैधानिक अधिकारको रक्षा गर्दै शान्तिपूर्ण ढंगले काम गर्ने वातावरण सिर्जना गर्न पनि स्थानीय प्रहरी प्रशासनसमक्ष माग गरेको छ ।























