दिपेन्द्रबहादुर विश्वकर्मा, विकास निरौला
विजुलीका पोलमा झेलिएर रहेका तारलाई व्यवस्थित गर्न नसक्दा उर्लाबारी नगर क्षेत्र कुरुप बन्दै गएको छ ।
विजुलीका पोलहरुमा विभिन्न केवल लाइनका तार, टेलिकम, नेटहरुका तारहरु तताततै अस्तव्यस्त तरिकाले राख्ने गरिएको पाइएको हो । जसले गर्दा उर्लाबारी नगर क्षेत्र कुरुप बन्दै गएको छ । जति कुरुप हुँदैछ त्यति नै आगलागी वा कुनै दुर्घटनाको जोखिम बढेर गएको स्थानीयबासी बताउँछन् । उर्लाबारीमा १ दर्जन भन्दा बढी इन्टरनेट कम्पनीहरुले नेटको सेवा दिँदै आएका छन् । इन्टरनेट कम्पनीकै चरम लापरबाहीका कारण यो अवस्था सिर्जना भएको देखिन्छ । यस बारेमा सरोकारवाला निकायले ध्यान दिन अतिआवश्यक छ ।
नेपाल विद्युत प्राधिकरण उर्लाबारी वितरण केन्द्रले उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका र रतुवामाई नगरपालिका वडा नम्बर ८, ९, १० सम्मका सेवाग्राहीलाई सेवा दिँदै आएको छ । उर्लाबारी प्राधिकरणका प्रमुख प्रकाश चौधरीले पोलमा झुन्डिएका अव्यवस्थित तारले उत्पन्न गरेको समस्याका बिषयमा स्थानीय सरकारसँग दुई पटक बैठक बसेको तर केही निष्कर्ष निस्किन नसकेको बताउनुभयो । प्रमुख चौधरीका अनुसार उक्त समस्याले प्राधिकरणका कामदारलाई समेत काममा असहज र दुर्घटनामा पर्ने जोखिम बढेको छ ।
उहाँले यो बिषयमा स्थानिय सरकारको चासो बढी हुनु पर्ने समेत बताउनु भयो ।
यस्तै, नेपाल टेलिकमले बिगत लामो समयदेखि उर्लाबारी क्षेत्रमा सेवा सुबिधा दिँदै आएको छ । उर्लाबारी शाखा टेक्निसियन इन्चार्ज राजेन्द्र चौधरीले नेपाल टेलिकमका तारहरु ब्यवस्थापनमा उर्लाबारी शाखाले केही गर्न अधिकार नभएको उक्त बिषयमा दमक शाखालाई सम्पर्क गर्नुपर्ने अभिव्यक्ति राख्नु भयो ।
समय समयमा विभिन्न स्थलमा अव्यवस्थित तारहरु सट भएर आगलागी भै रहने हुन्छ । नगरबासी कुन बेला के हुन्छ भनेर त्रसित छन् । उर्लाबारी नगरप्रमुख गंगा खलेरले उक्त बिषयमा नीति नियम समेत नभएको कारण अहिलेसम्म सावधानका ठोस कदम चाल्न नसकेको तर यो साउन महिना भित्र नीति तयार गरि सम्पूर्ण ईन्टरनेट कम्पनी, विद्युत प्राधिकरण, नगरपालिकाको संयुक्त बैठक बसी तत्काललाई कुनै उपाय निकालेर समस्या न्यूनीकरण गर्ने बताउनुभयो । उहाँका अनुसार यो बिषयमा दीर्घकालीन योजना बनाउन आवश्यक रहेको छ ।























