
टिका सिम्खडा
उर्लाबारी । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोल मेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् ।
नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् । क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको जनाएको छ । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।
नेपाल मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी सावित्राले लामो समयदेखि युरोपमा खेल्ने सपना राखेकी थिइन् । र, त्यसका लागि उपयुक्त अवसरको खोजीमा थिइन् । अहिले आएर त्यो सपना पूरा हुने बाटोमा रहेको उनले बताइन् । ‘यो मेरो लागि र नेपाली महिला फुटबलकै खुशीको कुरा हो । एकदमै राम्रो लागेको छ’, सावित्राले भनिन्, ‘पहिलेदेखिनै एउटा सपना थियो । अहिले त्यो सपनाको बाटोमा छु । पाइला चालिहरेको छु । सपना पूरा हुन बाँकी छ ।’
सावित्राले यसलाई आफ्नो खेल करियरको अर्को महत्वपूर्ण स्टेपको रुपमा लिएकी छिन् । यसले नेपाली महिला फुटबलको चर्चा युरोपसम्म हुने उनले बताइन् । घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छिन् । केही समयअघि समाप्त भारतीय महिला लिगमा उनले गोकुलम केरलाबाट खेल्दै उपाधि जितेकी थिइन् । जहाँ उनी २९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जित्न सफल भइन् । यसअघि उनले सेथु एफसी र गोकुलम केरलाबाटै लिग उपाधि जितेकी थिइन्न् ।
को हुन् सावित्रा
लमजुङको सिम्पानी ७ पाम्चोककी सावित्रा सानैदेखि खेलकुदमा रुची राख्थिन् । फुटबल खेल्न गाउँमा मैदानको समस्या थियो । त्यसमा पनि महिला फुटबल खेलाडी नै भेटिदैनथे । उनले एथ्लेटिक्स र भलिबलबाट खेलकूदमा पाइला राखिन् । उनी एथ्लेटिक्स र भलिबलमा पनि अब्बल थिइन् । बिद्यालयस्तरमा उनी भलिबलको राम्रो खेलाडी थिइन् । २०७० सालको राष्ट्रपति रनिङ शिल्डमा जिल्ला र क्षेत्रबाट छनौट हुँदै काठमाडौंमा भएको प्रतिस्पर्धामा उनको टोलीले काश्य जितेको थियो ।
त्यस्तै एथ्लेटिक्सको १०० र २०० मिटर दौडकी खेलाडी हुन् भण्डारी । एथ्लेटिक्सबाट पनि उनले जिल्ला र क्षेत्रीय स्तरमा थुप्रै पदक जितेकी छन् । भलिबलमा केन्द्रित रहेकाले केन्द्रबाट एथ्लेटिक्समा उनको नतिजा राम्रो भएन ।
उनको परिवार खेलाडी पृष्ठभूमीको होइन । सुरुवातमा गाउँकै दाइहरु तथा मामासँग खेल्थिन् । गाउँका मिन्टासी बिक एथ्लेटिक्स खेलाडी थिए । उनले काश्य पदक जितेर गाउँ फर्कँदा पाएको सम्मानले सावित्रा प्रभावित थिइन् र सोच्ने गर्थिन ‘म पनि खेलकुदमा लागेर यस्तै पदक जित्नेछु र सम्मान पाउनेछु ।’ अहिले उनको सपना साकार भएको छ ।
खेलकुदमा लाग्न परिवारबाट त्यति सहयोग नमिलेपनि अहिले पाएको सफलताबाट सबैभन्दा धेरै खुसी उनकै परिवार छ । उनी भन्छिन्, ‘मम्मीले खेलमा भन्दा पढाइमा जोड गर्नुहुन्थ्यो । उहाँले ठीकै भन्नुभएको थियो तर मेरो लक्ष्य भने खेलाडी नै बन्नु थियो । कतिले त केटी मान्छे खेलकुदमा लागेर केहि गर्न सक्दैन भन्थे । तर धेरैजसोले राष्ट्रिय स्तरका खेलाडीहरु जमुना गुरुङ, अनु लामा लगायतको नाम लिएर हौसला दिनुहुन्थ्यो ।’
चार दिदीबहिनी र दुई भाइहरुमध्ये माइली हुन् सावित्रा । उनी सानैदेखि ‘टमब्वाइ’ छविकी थिइन् । कपाल पाल्न कहिल्यै मन लागेन उनलाई । अहिले पनि उनले व्वाइज कट काटेकी छिन् । सावित्रा भन्छिन्, ‘सानोमा बिदेशी खेलाडीहरुलाई टिभीमा देख्दा उनीहरुको जस्तै ‘हेयर स्टाइल’ बनाउन मन लाग्थ्यो ।’ अहिले उनको मनपर्ने बिदेशी खेलाडी क्रिष्टियानो रोनाल्डो हुन्, सावित्राको हेयर स्टाइल पनि लगभग रोनाल्डोकै जस्तो छ ।
गाउँमा फुटबल खेल्न खेलाडी नै नभेटिने समस्या थियो । बिशेष गरी फुटबलका लागि उनले आफ्नै सक्रियतामा टोली बनाउथिन् । गाउँस्तरमा दशै तिहार लगायतका चाडपर्वमा फुटबल खेल्थिन् । कहिलेकाहीँ त केटाहरुको टोलीमा मिसिएर फुटबल खेल्ने धोको पूरा गर्थिन सावित्रा ।
उनी दाइहरू खेलेको पोष्ट पछाडि बसिरहन्थिन्, बाहिर आएको बल प्रहार गर्न पाउँछु कि भन्ने आशामा । कक्षा ८ सम्म मात्र पढाइ हुने गाउँको स्कूलपछि उनले फूटबल खेल्ने चौर भएको अमर मावि रोजिन् । उनलाई याद छ, छिमेकी गाउँ घनपोखरामा महिला फूटबल हुँदैछ भन्ने थाहा पाएपछि रातारात त्यहाँ पुगेको । सृजनशील युवा क्लबबाट खेलेको र पहिलो पटक फूटबल बुट लगाएको । अनि प्रतियोगितामा पाँच गोल गरेको ।
२०७२ वैशाखमा घले गाउँमा भएको महिला फूटबल प्रतियोगिताले सावित्राको जीवनमा नसोचेको मोड ल्यायो । अन्य महिला खेलाडीभन्दा फरक ‘केटा जस्तै खेल्ने’ छरिती सावित्राको खेलमा रेफ्री बनेर आएकी शुक्रा लामाको आँखा प¥यो । लामाले सावित्राको फोन नम्बर मागिन् र सोधिन्, काठमाडौंमा बोलाए खेल्न आउँछ्यौ ?
असारमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट उनलाई निम्ता आयो । तर गाउँ छोडेर एपीएफ आउँदा उनले केही प्रश्नको सामना गर्नुप¥यो । ‘शहरमा एक्लै नजा, बिग्रेलिस् ’, ‘छोरी मान्छेले एक्लै घर छाड्नुहुन्छ ?’ जस्ता प्रश्न उठेका थिए । तर, सावित्रा मान्नेवाला थिइनन् ।
मासिक ५ हजारको करार जागिरमा सावित्रा एपीएफमा आवद्ध भइन् । महिला फूटबलमा सशक्त मानिने सशस्त्रमा छिरेपछि बल्ल उनको वास्तविक खेलाडी बन्ने यात्राको शुरूआत भयो ।
त्यतिबेला एपीएफमा राष्ट्रिय टोलीका जल्दाबल्दा खेलाडी जमुना गुरुङ र अनु लामा थिए । बाँकीमध्ये पनि अधिकांश राष्ट्रिय टोलीका सदस्य । जमुना घाइते हुनु तथा अनु लामा मिसनको लागि विदेश गएपछि भाग्यमानी सावित्राले चितवनको राष्ट्रिय लिगमा अग्रपंक्तिको जिम्मेवारी पाइन् । लिगमा उनले ८ गोल गरिन् । राष्ट्रिय टोलीमा उनको उदय त्यहींबाट भयो ।
तेस्रो साफ च्याम्पियनसिपका लागि उनलाई राष्ट्रिय टोलीमा बोलाइयो । प्रतियोगितामा भूटान विरुद्धको ‘डेब्यु’ खेलमा नै सावित्राले ८ गोल गरिन् । अहिले राष्ट्रिय जर्सीकी पहिलो रोजाइकी निर्विकल्प खेलाडी बनेकी छिन्, सावित्रा ।
‘साम्बा’ उपनामले चिनिने फुटबलर सावित्रा भण्डारीको नाममा नेपालमा अनेक कीर्तिमानी छन् । उनी नेपालमा मात्रै नभएर दक्षिण एसियाकै चर्चित महिला फुटबलर हुन् । गोल गर्ने उत्कृष्ट कला, सेलिब्रेसन गर्ने शैली अनि हेअर स्टाइलले गर्दा पनि साम्बा अरू फुटबलरभन्दा फरक छिन् ।
नेपालका लागि कीर्तिमानी ३८ गोल गरेकी उनले अझै धेरै थप्न सक्ने अपेक्षा गरिएको छ । आउने पुस्तालाई यो कीर्तिमानी भेट्टाउन पक्कै गाह्रो हुनेछ । पुरुष फुटबलमा नेपालका लागि सर्वाधिक व्यक्तिगत गोलसंख्या १३ मात्र हो । सशस्त्र प्रहरी बलबाट घरेलु फुटबल खेल्ने साम्बाले नेपालमा धेरै उपाधि जितिसकेकी छिन् । अन्तराष्ट्रिय रुपमा भने उपाधि जित्ने उनको धोको अझै बाँकी छ ।
सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला फुटबल च्याम्पियनसिपमार्फत राष्ट्रिय टिममा डेब्यु गरेकी साम्बाले भुटानविरुद्धको पहिलो खेलबाट डेब्यु गरेकी थिइन् । त्यसबेला उनी १७ वर्षकी थिइन् । उनको डेब्यु खेलमा नेपाल ८–० ले विजयी भएको थियो । ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी साम्बाले दुई मिनेटमै गोल गर्दै आफ्नो यात्रा सुरु गरेकी थिइन् । त्यसको दुई वर्षपछि भारतमा भएको च्याम्पियनसिपमा झन् उनको चर्चा बढ्यो । उनले त्यहाँ सर्वाधिक १२ गोल गरिन् । यस्तै सन् २०१९ मा नेपालमै भएको साफमा नेपाल उपविजेता बन्दा उनी सर्वाधिक गोलकर्ता बनेकी थिइन् । तर नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित हुँदा उपाधि जित्ने सपना अधुरै रहेको थिण्ंंयो ।
२६ बर्षीया साम्बाले सानो हुँदा अनु लामा, जमुना गुरुङ जस्ता खेलाडीको नाम सुन्दै आफू पनि कुनै दिन त्यसरी नै खेल्ने सपना देखेको बताएकी थिइन् । साम्बाले फुटबलले आफ्नो जीवन नै परिवर्तन गरिदिएको समेत बताएकी छिन् ।