उर्लाबारी / राधिका माध्यमिक विद्यालय, उर्लाबारी–६ मा कक्षा–१२ उत्तीर्ण विद्यार्थीका लागि आयोजित “विदाइ तथा फेरि भेटौँला” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुले गर्नुभयो। कक्षा १२ का विद्यार्थी किस्मत बाँस्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य विनिता दंगालले प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको सञ्चालन प्रशान्त सापकोटाले गर्नुभएको थियो।
विदाइ समारोहका क्रममा विद्यार्थीहरूले कविता वाचन, गीत, नृत्य लगायतका सिर्जनात्मक प्रस्तुति राखेका थिए। विद्यालयले कक्षा–१२ उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो वितरण गर्दै आगामी जीवनयात्रामा सफलताको शुभकामना दिएको थियो।
सो अवसरमा प्रधानाध्यापक कुमार पोख्रेलले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयको गौरव वृद्धि गर्न सक्षम भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो। उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षामा निरन्तरता दिन प्रेरित पनि गर्नुभयो।
कार्यक्रममा शिक्षक महासंघ उर्लाबारी नगर अध्यक्ष मणिराज दहाल, राधिका मा.वि. उर्लाबारी–७ का प्र.अ. सुवासचन्द्र सापकोटा, विद्यालयका शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको विद्यालयले जानकारी दिएको छ।























