सरोज बस्नेत
मोरङको मिक्लाजुङ–१ को आइतबारे आन्तरिक पर्यटकहरुको रोजाई बन्दै गएको छ । उर्लाबारीको किशान चौक–टाँडी हुँदै आइतबारेसम्मको सडक कालोपत्रे भएसँगै आन्तरिक पर्यटकहरुको रोजाई बन्दै गएको हो ।

झापा र मोरङमा गर्मी बढेसँगै आइतबारेमा आन्तरिक पर्यटकहरु बढेका छन् । दैनिक सयौं संख्यामा आइतबारे घुम्न आउने गरेका छन् । आइतबारेमा पुग्ने आन्तरिक पर्यटकहरु लावा खोलाको चिसो पानीमा डुबुल्की मार्न पुग्ने गरेका छन् ।

चिसो वातावरणमा रम्न आइतबारे आउनेको संख्या बढेको स्थानीय उमेश राईले बताउनुभयो । कृषि, सामाजिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्व बोकेको आइतबारेसम्म सडक कालोपत्रे पुगेपछि चहलपहल बढेको उहाँको भनाई छ ।

यहाँ अलैची, अम्लिसो, अदुवालगायतका प्रमुख नगदेवाली साग सब्जी उत्पादन हुने गरेको छ । कोशी प्रदेशका १६ जिल्ला देख्न सकिने मिक्लाजुङ डाँडा, रमणीय वातावरण तथा धार्मिक क्षेत्रमा समेत उत्तिकै महत्व बोकेको यस क्षेत्र पर्यटनको प्रचुर सम्भावना रहेको छ ।
रमितेकै मुहार फेर्नका लागि कृषि तथा पर्यटनको सम्भावना हुँदाहुँदै राज्यले उचित लगानी गर्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत किसान चौकबाट टाँडी–रमिते–आइतबारेसम्म यो सडक कुल २८ किलोमिटर रहेको छ ।

मंगलबारे हुँदै साम्लिङ रमितेखोलादेखि मिक्लाजुङ र किसानचौक टाँडी हुँदै रमिते मिक्लाजुङ जोड्ने सडक छ । रमितेकै ओखलढुंगामा राष्टिूय प्रसारणको विद्युत जडान गरिएको छ । यो संगै प्रदेश सरकारले समेत मुख्य प्राथमिकतामा राखेर मिक्लाजुङ डाँडामा केवलकारको अवधारण अगाडी बढाएको थियो । तर, यसले मुर्त रुप लिन सकेको छैन । मिक्लाजुङ–१ को ओलढुङ्गाबाट नै प्याराग्लाइडीङको समेत सफल परिक्षण भएको थियो । यी दुई योजना अघि बढे पूर्वी नेपालको कृषीसँगसँगै पर्यटन प्रर्वधनमा प्रदेशकै प्रमुख केन्द्र बन्ने मिक्लाजुङ वडा नं. १ का वडाध्यक्ष पर्वत राईले बताउनुभयो ।
























