उर्लाबारी, उर्लाबारीका पशुपालक किसानहरुलाई नगरपालिकाले अनुदानमा विद्युतीय च्याप कटर (घाँस,पराल काट्ने मेसिन) प्रदान गरेको छ। नगरपालिकाको पशु विकास शाखामार्फत २७ जना व्यवसायिक किसानहरुलाई ४२ थान च्याप कटर प्रदान गरिएको हो ।
बिहीबार नगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा किसानहरुलाई वितरण गरिएको हो । नगरपालिकाका पशु विकास शाखा प्रमुख बद्री भट्टराईले किसानको २५ प्रतिशत र नगरपालिकाको ७५ प्रतिशत लगानीमा मेशिन वितरण गरिएको बताउनुभयो ।
मेसिन वितरण गर्दै उर्लाबारी नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष भीष्मराज बुढाथोकीले उर्लाबारीलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। मेसिनको प्रयोगले कृषि यन्त्र वितरणसंगै व्यवसायिक किसानहरुलाई पशुपालनमा सहजता ल्याउने र उत्पादन बृद्धि हुने अपेक्षा लिएको उहाँको भनाई थियो ।
कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत मुरारी घिमिरे, पशु शाखाका कर्मचारी विष्णुप्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।























