विकास निरौला
उर्लाबारी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले पहिचानका आधारमा पुनः नामाकरण गर्नु पर्नेमा जोड दिनुभयो ।
धिमाल समूदायको जात्री पर्व समापनको अवसरमा आज मोरङको उर्लाबारीमा सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री राईले सातै प्रदेशको नाम पहिचानका आधारमा हुनु पर्नेमा जोड दिनुभएको हो ।
धिमालहरू नेपालका सबैभन्दा पुराना आदिवासी र भूमिपुत्र भएको उल्लेख गर्दै हिजो राज्यको विभेदकारी नीति भएकै कारण आदिवासी जनजातिहरू राज्यले वितरण गरेका सेवा सुविधाबाट वञ्चित भएको बताउनुभयो । अल्पसंख्यक धिमाल समुदायको महान पर्व जात्रीर सिर्जात (पूजा) विशेष साँस्कृतिक कार्यक्रमसहित विधिवत रुपमा असार २ गते समापन भएको हो । प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानी धिमाल डाँडामा रहेको धिमाल ग्रामथामबाट सुरु भएको जात्रीरसिर्जात (पूजा) पर्व असार २ गते उर्लाबारीको मङ्गलबारेस्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थल (दस बिघे)मा समापन हुने गर्दछ ।
समापन कार्यक्रममा धिमाल जातिको मौलिक नाचगान, ढोल प्रतियोगिता, धिमाल कलाकारहरुको कला र गाला प्रस्फुटन गर्न स्टेजमा मौका लगायतका अवसर दिईन्छ ।























