उर्लाबारी । अवैध गर्भपतन गराउन लागिपरेको आरोपमा मोरङको उर्लाबारीका एक मेडिकल सञ्चालक पक्राउ परेका छन् ।
झापाको दमक–४ निवासी अन्दाजी ४५ बर्षकी कल्पना राईको गर्भपतन गराउन खोज्दा अकस्मात मृत्यु भएपछि शंकाको घेरामा रहेका उर्लाबारी–६ निवासी आश्रय मेडिकलका सञ्चालक सन्तोष घिमिरेलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
घटना विवरणअनुसार कल्पनाको पेटमा रहेको साढे ५ महिनाको शिशुको गर्भ पतन गराउने सो मेडिकलले २५ हजार लाग्ने बताएको थियो । पीडितहरुका अनुसार त्यस कुरामा सहमत भएपछि औषधि खुवाउने काम भयो । तर बच्चा झर्छ भनिएपनि पाठेघरको मुख खुल्न सकेन र झरेन । त्यो अवस्थामा डा. ममता पण्डितले भिडियो एक्स–रे गराइन् । त्यतिबेला उनलाई बच्चा पेटमा मरेतापनि बाहिर निस्किन नसक्दा आमाको पनि मृत्यु हुने डरले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे जान सुझाव दिएको बताइन्छ ।
यता, मदन भण्डारी अस्पतालमा शनिबार अप्रेसन गरी बच्चा फाल्ने काम भएतापनि ब्लड दिइरहेको तर ब्लड जाने क्रम नरोकिएकोले डाक्टरसहित तत्काल बिरामीलाई घोपामा उपचारका लागि लगिएको थियो । तर पनि कल्पनाको ज्यान बच्न नसकेको चिकित्सकहरुको भनाई छ ।
यसबारेमा आइतबार मंगलबारे अस्पतालमा शव राखेर पीडितहरुले न्याय खोजेका थिए । त्यसपछि मदन भण्डारी अस्पताल, पीडित, आश्रय मेडिकल, प्रहरीलगायतका प्रतिनिधि बसेर दिनभर छलफल गर्दा आश्रय मेडिकलले गर्भपतनको कानुनी दायरा मिचेका कारण बच्चा र आमाको ज्यान गएको निष्कर्ष निस्केकोले मेडिकल सञ्चालक सन्तोष घिमिरे तत्काल पक्राउ परेका छन् । सोमबार पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अब अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।























