सरोज बस्नेत
घना जंगलभित्र एउटा पोखरी छ, त्यो हो चुली पोखरी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा पर्ने यो चुली पोखरी प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । चुली पोखरी पुग्नका लागि उर्लाबारीको किसान चौक र उर्लाबारी चौक उत्तरबाट जान सकिन्छ । किसान चोकदेखि टाँडीको धोबेनी, साखरे हुँदै चुली पोखरी पुगिन्छ । यो मार्गबाट निजी सवारी साधनबाट पोखरीसम्म पुग्न सकिन्छ ।

बर्खाको समयमा सडक हिलाम्मे हुने गरेका कारण यात्रा कठिन हुन्छ । मिक्लाजुङ वडा नं. २ ले २० लाख रुपैयाँ बजेटमा साखरेदेखि चुलीपोखरीसम्म ब्यवस्थित सडक निर्माण गरेको छ । तर, पनि बर्षाका कारण यात्रा गर्न निकै कठिन हुने गर्दछ । उर्लाबारी चौकबाट मधुमल्ला, तोरीबारी, कुइँनेटार, बुद्धटार हुँदै पैदलमार्गबाट यहाँ पुग्न सकिन्छ । करिब २ घण्टा पैदल यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ । त्यस्तै, मिक्लाजुङ मधुमल्ला, मलामी टहरा, साखरे हुँदै चुलीपोखरी पुग्न सकिन्छ । यो मार्गबाट पनि निजी सवारीमार्फत पुग्न सकिन्छ । उर्लाबारीको किसान चौकदेखि १५ किलोमिटर उत्तर क्षेत्रमा अवस्थित चुली पोखरीबाट डब्लू हिल, मिक्लाजुङ राजारानी र पुत्र बुद्धको उत्पत्ति स्थल कुईँनेटार र बुद्धटार आकर्षण रहेका छन् ।


परापूर्वकालमा चुली पोखरी क्षेत्रमा राजा र रानी नाम गरिएका दुईवटा पोखरी थिए । कालान्तरमा पश्चिममा रहेको रानी पोखरी सुकेपछि राजा पोखरी मात्र रहन पुगेको जनविश्वास रहेको छ । चारौतिर डब्लुहिल पहाडको थनप्लोमा करिब दुई बिगाहा क्षेत्रफलमा फैलिएर रहेको छ चुलीपोखरी । चुरे पहाडको थाप्लोमा रहेको यो पोखरी धार्मिक तथा पुरातात्विक हिसाबले समेत निक्कै महत्वपूर्ण स्थान रहको र होम स्टेको रुपमा यसलाई बिकास गर्ने मिकलाजुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले बताउनुभयो ।

पोखरीको दक्षिणपूर्व पट्टि देखिने डूब्लू हिलले यस क्षेत्रमा पर्यटक स्वागत गर्न आतुर रहेको स्थानीय रुद्र भण्डारी भन्छन् ‘प्राकृतिक रुपमा डब्लू आकारको पहाडले वेलकम हिलको संकेत गर्छ ।’ यस पोखरीको अर्को विशषता भनेको पोखरीको उत्तर तर्फ मध्यभागमा रहेको प्राकृतिक ढुङ्गा हो । जुन ढुङ्गाको आकार ठ्याक्कै स्त्रीप्रजनन अंग (योनी) आकारको रहेको छ । रानी पोखरी फुटेर गएसँगै राजा पोखरीका राजाले सोही प्रजनन अंगमा सहवास गर्ने गरेको जनविश्वास रहि आएको छ । सो पोखरीमा अर्को विशेषता भनेको वरीपरि जंगलले घेरीएको पोखरीमा कुनै पनि पातहरु पोखरीमा छैन । पोखरीमा पातहरु खसिहाले पनि चराहरुले टिपेर लाने गरेको जनविश्वास रहिआएको छ । तर, चराले कुन समयमा पात टिप्छ भने कसैलाई थाहा छैन । सडक र खानेपानीको अभाव भएकाले पनि पर्यटन आगमनमा कठिनाई हुने गरेको स्थानीय भीमबहादुर श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘खानेपानी र सडक राम्रो र दिगो व्यवस्थापन भए, यहाँ पर्यटक संख्यामा वृद्धि हुने थियो ।’ चुली पोखरी क्षेत्रमा ३५ घर रहेका छन् ।
यसैबीच, चुली पोखरीको प्रर्वधनका लागि मिक्लाजुङ गाउँपालिका र वडा कार्यालयले चासो देखाएको छ । केही समयअघिमात्रै होमस्टे तालिम सञ्चालन गरिएको छ । स्थानीयलाई होमस्टे सञ्चालनका लागि वडा कार्यालय र पालिकाकोतर्फबाट सहयोग रहने वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले प्रतिबद्धता जाहेर गर्नुभयो । तीनै तहका सरकारले चुलीपोखरीको विकास र प्रवद्र्धनमा जोड दिइरहेका छन् ।

 

संघीय सरकार र प्रदेश सरकारले चुलीपोखरीमा बजेट विनियोजन गरेको छ । यसको थप विकासका लागि गुरुयोजना बनाएर अघि बढ्ने वडाध्यक्ष श्रेष्ठको भनाई छ । आन्तरिक र बाह्य पर्यटकहरुका लागि आकर्षक गन्तब्य बनाउने उहाँले बताउनुभयो । पैदलमार्ग हुँदै चुलीपोखरी पुग्नुको बेग्लै मज्जा रहेको उर्लाबारीका छबी श्रेष्ठ बताउनुभयो । यसलाई थप ब्यवस्थित बनाउन जरुरी रहेको उहाँको भनाई छ । चुली पोखरी वरिपरी तारको घेराबारा गरिएको छ भने शौचालयलगायतको ब्यवस्था मिलाइरहेको छ । वनभोजलगायतका लागि पनि आकर्षक स्थल सँगसँगै सुरुवातमा ५ घरमा होमस्टे बनाउने तयारी भइरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । एकान्त वातावरणमा रम्न चाहनेहरुका लागि यो स्थल महत्वपूर्ण हुनेछ । चुली पोखरीसँगै रहेको डब्लू हिलबाट मिक्लाजुङ, उर्लाबारी, दमकलगायतको दृष्य हेर्न सकिनेछ । यसको विकास र प्रर्वद्धन गर्न सकेको खण्डमा कोशी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्ने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय