महानगरपालिकाले कार्यालय संचालन तथा प्रशासनिक तर्फ ६८ करोड, पूर्वाधार विकास तर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास तर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास तर्फ ८५ करोड २० लाख ४४ हजार, सुशासन तर्फ ३ करोड ५ लाख र विपद् व्यवस्थापन तर्फ २ करोड ७२ लाख रुपियाँ खर्च हुने अनुमान प्रस्तुत गरेको छ । सामाजिक विकास अन्तरगत शिक्षा तर्फ ६७ करोड ९४ लाख रुपियाँ र स्वास्थ्य तर्फ १३ करोड ६७ लाख रुपियाँ खर्च हुने जनाएको छ ।
आगामी आर्थिक वर्षको खर्च अनुमान पेश गर्दै महानगरपालिकाले स्रोतहरुको व्यवस्थापन मिलाएको जनाएको छ । महानगरले संघीय सरकार अन्तर सरकारी वित्तीय हन्तान्तर मार्फत १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार, राजश्व बाँडफाँडबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आम्दानीबाट ९९ करोड ५० लाख, जनसहभागिताबाट १० करोड, आन्तरिक ऋणबाट १० करोड र अन्य संघ संस्थाबाट ३ करोड र नगद मौज्दातबाट २ करोड रुपियाँ आय हुने अनुमान गरेको छ ।
विराटनगर महानगरपालिकाले स्रोतमा भएको संकुचनको अवस्थालाई मध्यनगर गरेर चालु आर्थिक वर्ष २०७९/८० को भन्दा ८८ करोड ५९ लाख ९८ हजार रुपियाँ कम गरेर आगामी वर्षको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा महानगरको संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपियाँ थियो । तर, महानगरपालिकाले चालु वर्षको (११ महिनामा) जेठ मसान्तसम्म २ अर्ब ८६ करोड ८३ लाख रुपियाँ मात्र यथार्थ आम्दानी गरेको छ ।
चालु वर्षमा महानगरले व्यय तर्फ पनि लक्ष्य हासिल गर्न नसकेको बजेट वक्तव्यमा उल्लेख छ । चालु वर्षमा २ अर्ब २४ करोड ८२ लाख २९ हजार ६७ रुपियाँ मात्र यथार्थ व्यय भएको छ । पुँजीगत तर्फ २ अर्ब २७ करोड रुपियाँ खर्च अनुमान गरेको महानगरले चालु वर्षमा जम्मा ९० करोड १९ लाख ६ हजार ६७८ रुपियाँ मात्र खर्च गर्न सकेको छ । विराटनगरको पुँजीगत भन्दा चालु खर्च ३९ करोड रुपियाँ भन्दा बढी भएको छ । चालु तर्फ १ अर्ब २९ करोड ८९ लाख ४० हजार ७२२ रुपियाँ खर्च गरेको छ । चालु वर्षमा १ अर्ब ८४ करोड रुपियाँ चालु खर्च हुने अनुमान महानगरको थियो । चालु वर्षको ११ महिनामा महानगरले ५१ करोड ६५ लाख ९४ हजार ९१९ रुपियाँ आन्तरिक आम्दानी गरेको छ । नगरसभा बैठक महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा सञ्चालन भएको थियो ।























