स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा नेपालको संविधानले ग्यारेन्टी गरेको मौलिक हक भएकाले यी दुवै सेवा व्यावहारिकरूपमै निःशुल्क गराउन आवश्यक भएको बताउनुभएको छ ।
दमकस्थित आम्दा अस्पतालमा आज आयोजित अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा उहाँले शिक्षा र स्वास्थ्य सेवा मौलिक हक भएकाले यी सेवा व्यावहारिकरूपमा निःशुल्क बनाउन वर्तमान सरकार संवेदनशील भएको बताउनुभयो ।
स्वास्थ्य सेवा सर्वसुलभ मात्र होइन निःशुल्क हुनुपर्ने भन्दै उहाँले त्यसका लागि राज्यसँगै चिकित्सक, अन्य स्वास्थ्यकर्मी कर्तव्यनिष्ठलाई भएर सेवा पु¥याउन आग्रह गर्नुभयो ।
सबै सरकारी अस्पतालका शय्या निःशुल्क सेवाका लागि उपयोग गर्ने मन्त्रालयको योजना रहेको सुनाउँदै उहाँले वीर अस्पतालमा निःशुल्क शय्याको सुरुआत भएलगत्तै कोशी अस्पताल विराटनगरको व्यवस्थापन पक्षसँग पनि छलफल गरेर तीन सय ३० शय्या निःशुल्क गराउने निर्णय भएको जानकारी दिनुभयो ।
स्वास्थ्य क्षेत्रमा धेरै काम भएको र अझै गर्नुपर्ने पनि धेरै भएको चर्चा गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “पैसा नभएकै कारण केही काम गर्न सकिएन भन्नेभन्दा पनि सुरुआत र प्रयासचाहिँ गर्नुपर्छ, तबमात्र सफलता प्राप्त हुन्छ ।”
उहाँले त्यस अवसरमा अमेरिका र नेपालमा रहेका चिकित्सकको सङ्गठन नेपाल–अमेरिका मेडिकल फाउन्डेसनद्वारा आम्दा अस्पताल र दमक किओच बाल अस्पतालका लागि निःशुल्क प्रदान गरिएका अक्सिजन प्लान्टसमेत हस्तान्तरण गर्नुभयो ।
फाउन्डेसनका पूर्वअध्यक्ष डा भूपेश खडकाले मन्त्री बस्नेतलाई प्रदान गरेको प्लान्टसम्बन्धी आवश्यक कागजात मन्त्री बस्नेतले आम्दा अस्पताल दमकका मेसु डा प्रकाश शर्मा र किओचका अध्यक्ष डा भगवान् कोइरालालाई हस्तान्तरण गर्नुभयो । किओचद्वारा दमकमा किओच दमक बाल अस्पताल सञ्चालनमा छ ।























