उर्लाबारी । २०७९ पौष २२ गते मोरङको मिक्लाजुङ–३ टाँडीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थाको रकम राख्ने सेफ (बाक्सा)चोरी भएको भयो । संस्थाको कार्यालयबाट करिब ५० मिटर पश्चिममा पैसा राखिने गरेको सेफ (बाक्सा) फेला परेको थियो । पैसा राखिने गरेको सेफ (बाक्सा) चाबी कर्मचारी मेनुका शिवाले राख्ने गर्थिन । आर्थिक पाटो उनै शिवाले हेर्ने गरेकी थिइन् । चोरीको घटना सार्जजनिक भएपछि संस्थाको बेतिथिका बारेमा पनि घटना बाहिरियो । पैसा राखिने गरेको सेफ (बाक्सा) मा लगभग २० लाख थियो । जबकी ४० लाख भन्दा बढीको हरहिसाब हराएको देखिएको थियो । चोरीको घटना भनेर पक्राउ गरेकी कर्मचारी शिवालाई मुद्दा चलायो । जिल्ला अदालतबाट ५ लाख धरौटीमा रिहा भएकी कर्मचारी शिवालाई कम धरौटीमा छोडेको भन्दै संस्थाका पदाधिकारीहरुले उच्च अदालतमा मुद्दा हाले । त्यसपछि उच्च अदालतले पनि ८ लाख धरौटी तोकेको छ । शिवाले उक्त रकम बुझाउन नसके कारागार चलान हुनु पर्ने छ ।
पैसा राख्ने सेफ (बाक्सा) शिवा एक्लैले बोक्न सक्ने देखिँदैन । २ सय ८० केजीको उक्त बाक्सा बोक्न ठूलै समूह चाहिन्छ । तर, शिवालाई मात्रै दोषी देखाएर सञ्चालक र अन्य कर्मचारी पन्छिन खोजेका छन् । घटना भएको ६ महिना वित्दा पनि सत्यतथ्य बाहिर आउन सकेको छैन । सञ्चालक समितिले नै सत्य कुरा बाहिर ल्याउन नचाहेको त होइन भन्ने प्रश्न खडा भएको छ । समितिले घटना लुकाउन भरपुर प्रयास गरेको भन्दै शेयर सदस्यहरु रुष्ट छन् । ६ महिना वित्दा पनि वास्तविकता सार्वजनिक नभएको भन्दै आक्रोशित शेयर सदस्यहरुले शुक्रबार सहकारीको कार्यालयमा तालाबन्दी गरे ।
शेयर सदस्यहरुले सहकारीमा भएको चोरी र हिनामिना घटना सार्वजनिक नभएसम्म चाबी नखोल्ने बताएका छन् ।
सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका शिवालाई नियन्त्रणमा लिएर धरौटीमा छुटेपनि अन्य कर्मचारी तथा संस्थाका सञ्चालकहरुको नै घटनामा संलग्न भएको भन्दै शेयर सदस्यहरुले निष्पक्ष छानविन गर्न माग गरेका छन् । पैसा राखिने गरेको सेफ (बाक्सा) मा २० लाख रहेको र बाँकी रकम आफुसहित संस्थाकी अध्यक्ष मिना कार्कीलगायतले चलाएको पूर्व कर्मचारीसमेत रहेकी शिवाले बताएकी छन् । आफुले ६ लाख, अध्यक्ष कार्कीले ६ लाख ४८ हजार, लेखा संयोजक कुमारी कटुवालले ८३ हजार, लेखा सदस्य हिन्दु लिङ्देनले १ लाख २१ हजार, सचिब लक्ष्मी ढुंगाना २६ हजार, कोषाध्यक्ष जीना गुरुङ २६ हजार, उपाध्यक्ष धनमाया भट्टराईले २० हजार, कर्मचारी देबी चौलागाई २ लाख र व्यवस्थापक प्रकाश खनालले ३ लाख ७६ हजार चलाएको दाबी गरिन् । शिवाले काम गर्ने सिलसिलामा केही त्रुटी भएपनि आफूले आर्थिक हिनामिना नगरेको दाबी गरेकी छिन् । यस घटनामा शिवा मात्र एक्लै दोषि छैन, सञ्चालक समितिका पदाधिकारीमाथि पनि छानविन हुनु पर्ने शेयर सदस्यहरुको भनाई छ ।
घटनापछि शेयर सदस्यहरुसँग समेत सहकारीले छलफल गरेको छैन । समस्या समाधानका लागि सहकारीका सञ्चालकहरुले चासो नदिनु रहस्यमय बनेको छ । सहकारीमा भएको चोरी र हिनामिनाको बारेमा वास्तविकता सार्वजनिक गर्नु पर्नेमा मिक्लाजुङ वडा नं. ३ का पूर्व वडाध्यक्ष खगेन्द्र मादेनले जोड दिए । २०६८ सालमा स्थापित सो संस्थामा मिक्लाजुङ–२,३,४ र ६ नम्बर वडाका ८ सय बढी शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय