उर्लाबारी । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धब थापालाई अघि सार्ने निर्णय गरेको छ ।
एमाले नेतृत्वको सरकारका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत नपाएसँगै कोशीमा नयाँ सरकार गठनको बाटो खुलेको हो । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेपछि गठबन्धनका नेताहरु आफ्नो नाममा सहमति जुटाउन काठमाडौं गएका थिए । बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘गठबन्धनमा भएका दलहरुको तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सल्लाह दिने निर्णय भएको छ ।’
पाँचदलीय गठबन्धनमा को पहिला मुख्यमन्त्री बन्ने बाटो खुलेपनि सरकार गठन सहज देखिएको छैन । किनकी प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० सिट छ र, उसले हाल सरकारमा रहेको ६ सिट भएको राप्रपालाई आफूसँगै राख्न प्रयास गरिरहेको छ ।
एमाले र राप्रपा एक ठाउँमा भएको अवस्थामा पाँच दलीय गठबन्धनलाई मुख्यमन्त्रीमा दाबी गर्न सकस हुनेछ । किनकी माओवादी केन्द्रबाट निर्वाचित बाबुराम गौतम सभामुख छन्, जो सरकार गठन प्रक्रियामा सहभागी हुन मिल्दैन । उनलाई नगन्ने हो भने पाँच दलीय गठबन्धनसँग पनि ४६ सिट (कांग्रेस २९, माओवादी १२, एकीकृत समाजवादी ४ र जसपा १) मात्र हुन्छ, जुन ९३ सदस्यीय प्रदेशसभाको बहुमतका लागि एक कम हो ।
गठबन्धनका कतिपय नेता प्रदेश प्रमुखको आह्वानअनुसार मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने क्रममा संसदीय दलका नेताहरुले हस्ताक्षर गर्ने भएकाले सरकार गठन हुनसक्ने दाबी गर्छन् । त्यसो भएको अवस्थामा पनि संकट टर्दैन ।
किनकी संविधानको धारा १६८ ९२० अनुसार नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘अहिले सरकार बनाइहाले पनि भोलि प्रदेशसभाबाट विश्वासको मत लिने बेला ४६ हुन्छ । किनकी त्यो बेला सभामुखले मतदान गर्न मिल्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय