दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । सोमबार मोरङको उर्लाबारी–२ मा फोर लेनको सडक निर्माणको शिलान्यास कार्यक्रम राखिएको थियो । शिलान्यासका लागि विहान ११ः ४५ बजेका लागि तयारी पनि भयो । तर, अन्तिम समयमा विवाद निकालेर शिलान्यास रोकियो ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल प्रमुख अतिथिका लागि निम्ता गरिएको थियो । प्रमुख खरेल कार्यक्रममा उपस्थित हुनु भएन । त्यहाँ पुगेका वडा नं. २ र ३ का वडाध्यक्ष पनि नगरप्रमुख खरेलले तत्काल शिलान्यास रोक्नु भनेपछि फर्किनु भयो । स्थानीयबासी समेत सडक निर्माण सुरु हुने भएपछि उत्साहका साथ कार्यक्रममा पुगेका थिए । तर, नगरप्रमुख खरेलले विवाद देखिएको भन्दै शिलान्यास रोक्न आदेश दिनुभयो । त्यहाँ उत्साहका साथ पुगेका स्थानीयबासीले नगरप्रमुख खरेलले शिलान्यास रोकेको भन्दै आक्रोश पोखे । उनीहरुले विकासको काममा राजनीति खिचातानी भएको भन्दै विरोध जनाए । स्थानीयबासीले निर्माण कार्य नरोक्न र साथ दिन तयार भएको बताए । स्थानीयकै रोवहरमा शिलान्यास गरिएको छ ।
विश्व बैंकको सहयोगमा ३९ करोड ५७ लाख रुपैयाँ लागतमा यो स्तरको सडक निर्माणका लागि ठेक्का आब्हान भएको थियो । त्यसमा सिपेल इन्फ्रा क्रेच कालोनी सनाथ नगर हैदराबादले ३६ करोड १२ लाख ४३ हजार ६ सय १६ रुपैयाँमा ठेक्का पाएको थियो । स्थानीय कृष्ण चोकदेखि सुनझोडा सामुदायिक वनसम्म पुग्ने ५.५ किलो मिटर फोर लेनको सडक निर्माण गर्ने सम्झौता भएको छ ।
मुख्य ठेकेदार कम्पनीले सिपेल इन्फ्रा क्रेच कालोनी सनाथ नगर हैदराबादका प्रबन्धक निर्देशक राजेशकुमार सिंहले फोर लेनको सडक निर्माण कार्यका लागि उर्लाबारीका ठेकेदार अर्जुन तुम्रोकलाई जिम्मेवारी दिएको बताउनुभयो । यसअघिका ठेकेदारले काम नगरेकोले उक्त सम्झौता रद्ध गरी गुणस्तर काम गर्ने सम्झौता अनुसार ठेकेदार तुम्रोकलाई जिम्मेवारी दिएको बताउनुभयो । यता स्थानीय ठेकेदारको जिम्मेवारी पाउनु भएका तुम्रोकले ४ दिन अघि मुख्य ठेकेदार कम्पनीसँग सम्झौता गरेको बताउनुभयो । । ठेक्का पाउने वित्तिकै काम थालेको र १८ देखि २० महिनाभित्र सम्पन्न गरेर दिने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । ‘नाफा घाटा होइन मेरो गाउँको बाटो हो’ उहाँले भन्नुभयो–‘ ठेकेदार निर्मल उप्रेतीले काम नगरेकाले सम्झौता तोडेर नयाँ सम्झौता गरिएको हो ।’
यस्तै, सुरुमा ठेक्का दिएको कम्पनीले दोस्रोलाई ठेक्का दिईसकेको र फेरि सुरुको कम्पनीले दोस्रोलाई थाहै नदिई तेस्रोलाई ठेक्का दिएको जानकारी आएपछि आफुले शिलान्यास रोकेको नगरप्रमुख खरेलले बताउनुभयो । वडा अध्यक्षहरु, ठेक्का लिने ठेकदारहरु, नगरप्रमुखलगायत सम्पूर्ण टिमले शिलान्यास रोकिएपछि अघिल्लो प्रक्रिया र समस्या सावधानका लागि संयुक्त बैठक बसेको समेत उहाँले जानकारी दिनुभयो । उक्त बैठकमा उत्पन्न भएको बिवादका कारण भोलिको दिनमा काम सुरु भएपछि कुनै पनि बाधा अवरोध सिर्जना नहोस् भनेर प्रक्रियागत रुपमा अघि बढ्ने र चाँडै योजना अनूरुपको कार्यको थालनी हुने निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।























